काठमाडौँ । देशका १० ठूला वाणिज्य बैंकहरूको कर्जा गुणस्तर मूल्याकंन गर्न बंगलादेशको हौलादार युनुस एण्ड कम्पनीले पाउने सम्भावना बढेको छ । यसअघि प्रारम्भिक छनोटमा परेका ६ ओटा कम्पनीहरूमध्ये उक्त बंगलादेशी कम्पनीमात्र प्राविधिक मूल्याकंनमा उत्तीर्ण भएको राष्ट्र बैंकले जनाएको छ ।
अब जुन ८ (जेठ २५ गते) खोलिने वित्तीय मूल्याकंनमा पनि उत्तीर्ण भएमा मात्र उक्त बंगलादेशी कम्पनीले नेपालका १० ठूला वाणिज्य बैकहरूको कर्जा गुणस्तर मूल्यांकन गर्न पाउनेछ । देशको केन्द्रीय बैंकले दोस्रोपटक गरेको बोलपत्र आह्वानमा हौलादार युनुस एण्ड कम्पनीका अतिरिक्त नेपाली परामर्शदाता कम्पनी सुवेदी एण्ड एशोसिएट्सको नेतृत्वमा भारतीय कम्पनी मेहरा गोयल एण्ड कम्पनी र जेकेएसएस एण्ड एशोसिएट्सको प्रस्ताव प्रारम्भिक छनोटमा परेको थियो ।
यसबाहेक भारतीय कम्पनीका तीन र श्रीलंकाको १ ओटा कम्पनीको प्रस्ताव प्रारम्भिक छनोटमा परेका थिए । नेपालको बीके अग्रवाल एण्ड कम्पनी सहायक राखी भारतको एसआर बाट्लीबोई एण्ड एशोसिएट कम्पनीले पेश गरेको प्रस्ताव पनि छनोटमा परेको थियो । यसबाहेक श्रीलंकाको डेलोइट पार्टनर्स, भारतको केपीएमजी एस्योरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस, भारतकै एमएसकेए एण्ड एशोसिएट्सको प्रस्ताव पनि छनोटमा परेको थियो ।
पहिलोपटक गतवर्ष चैतमा गरिएको आह्वानमा पाँचओटा प्रस्ताव प्रारम्भिक छनोटमा परेकोमा केपीएमजी अस्योरेन्स एण्ड कन्सल्टिङ सर्भिसले मात्र प्रस्ताव पेश गरेको थियो । तर, कम्पनीले अनुमानित बजेटभन्दा बढी रकमको प्रस्ताव गरेपछि राष्ट्र बैंकले प्रक्रिया रद्द गरी गत पुसमा दोस्रोपटक प्रस्ताव आह्वान गरेको थियो ।
यसअघि परामर्शदाता योग्य हुनका लागि ७० अंक प्राप्त गर्नुपर्ने व्यवस्था रहेकोमा यसलाई घटाएर ६० कायम गरिएको छ । छनोटमा परामर्शदाताको योग्यतालाई ५० प्रतिशत, अनुभवलाई ४० प्रतिशत र क्षमतालाई १० प्रतिशत अंकभार दिइएको छ ।
अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)ले विस्तारित कर्जा सुविधा (ईसीएफ) किस्ता दिनुअघि १० ठूला वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर परीक्षण गर्नुपर्ने शर्त राखेको थियो । नेपालका बैंकहरूको खराब कर्जा न्यून भएपछि कर्जाको गुणस्तरमा शंका गर्दै आईएमएफले अन्तरराष्ट्रिय परामर्शदाताबाट त्यसको परीक्षण गराउन लागेको हो ।
आईएमएफसँगको सम्झौतामा २०२४ अप्रिल अन्तिमबाट परीक्षण प्रक्रिया शुरू गरी डिसेम्बरसम्ममा सक्ने र भेटिएका कैफियतको आधारमा २०२५ फेब्रुअरीबाट सुधारको कार्ययोजना सञ्चालन गर्ने उल्लेख छ ।