काठमाडौं । सान्भि इनर्जी लिमिटेडले थप सर्वसाधारणका लागि जेठ ९ गते (आज) देखि आईपीओ निष्कासन गरेको छ । थप सर्वसाधारणका लागि कम्पनीले २४ लाख १५ हजार ३०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएकोे हो । यसअघि सर्वसाधारणतर्फको शेयरमध्ये आयोजना प्रभावित स्थानीयमा ८ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ९१ हजार कित्ता बाँडफाँट गरी बाँकी रहेको शेयरमध्ये पनि सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ५०० कित्ता र कम्पनीका कर्मचारीहरूका लागि ५८ हजार २०० कित्ता आईपीओ बाँडफाँट गरिसकेको जानकारी कम्पनीले दिएको छ ।
कम्पनीले आफ्नो जारी पूँजी ८८ करोड रुपैयाँको आधारमा सर्वसाधारणका लागि ४३ दशमलव शून्य ७ प्रतिशतले हुने ३७ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । सर्वसाधारणमा जारी हने बाँकी कित्ता आईपीओ छिटोमा जेठ १३ गतेसम्म निष्कासन हुनेछ । छिटो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने जेठ २३ गतेसम्म निष्कासन लम्बिने जानकारी कम्पनीले दिएको छ ।
तर पछिल्लो समय सर्वसाधारणमा आईपीओ निष्कासन हुँदा पहिलो दिनमा नै मागभन्दा बढी आवेदन पर्दै आएकाले कम्पनीको आईपीओ पनि छिटो अवधिभित्र मात्र निष्कासनमा रहने निश्चित नै छ । लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्ने व्यवस्था छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्नुपर्नेछ । साथै मेरो शेयर अनलाईनमार्फत पनि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व प्रदान गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इम्युअर रेटिङ प्रदान गरेको छ । यस कम्पनीले इलाम जिल्लामा ७ दशमलव ६ मेगावाट क्षमताको जोगमाई खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७४ साल वैशाख १८ गतेदेखि व्यापारिक उत्पादन शुरु गरिसकेको छ भने ५ दशमलव २ मेगावाट क्षमताको जोगमाई क्यासकेड जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छ । यस योजनाको ८९ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको जानकारी कम्पनीले दिएको छ । अधिकृत पूँजी ८८ करोड रुपैयाँ रहेको कम्पनीको जारी पूँजी पनि ८८ करोड रुपैयाँ नै रहेको छ ।
हाल संस्थापक शेयरधनीहरूबाट चुक्ता भएको पूँजी ५० करोड १० लाख रुपैयाँ छ । सर्वसाधारणतर्फको सम्पूर्ण कित्ता आईपीओ निष्कासन तथा बाँडफाँटपछि भने कम्पनीको चुक्तापूँजी ८८ करोड रुपैयाँ कायम हुनेछ । कुल पूँजीमा संस्थापकतर्फ ५६ दशमलव ९३ प्रतिशत, आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत र कर्मचारीसमेत बाँकी सर्वसाधारणमा ३३ दशमलव शून्य ७ प्रतिशत स्वामित्व कायम हुनेछ ।
कम्पनीले आईपीओबाट संकलित पूँजी आयोजना निर्माण तथा कम्पनीले तय गरेका उद्देश्य प्राप्तिको लागि उपयोग गरिने जानकारी दिएको छ । गत आर्थिक वर्ष ०८०/८१ सम्मको वास्तविक वित्तीय विवरणअनुसार कम्पनी १० करोड ३८ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म भने कम्पनीले १८ करोड ७७ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ७४ पैसा र प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३ पैसा छ । चालू आर्थिक वर्षभित्र भने प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ३३ पैसा र प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५३ पैसा कायम गर्ने प्रक्षेपण कम्पनीको छ ।