काठमाडौं । काम गर्ने जनसंख्या बढ्दै गएको तर त्यसअनुसार रोजगारी सृजना गर्न नसक्दा नेपालमा रोजगारीको अनुपात विगत २३ वर्षमा ११ प्रतिशतले घटेको विश्व बैंकले जनाएको छ । दक्षिण एशियाली मुलुकहरूमा यो सबैभन्दा उच्च गिरावट रहेको विश्व बैंकले मंगलवार सार्वजनिक गरेको ‘साउथ एशिया डेमलपमेन्ट अपडेट’ प्रतिवेदनमाउल्लेख छ ।
गैरकृषि क्षेत्रले रोजगारीका अवसर सृजना गरे तापनि पछिल्ला वर्षहरूमा काम गर्ने उमेरको जनसंख्यामा भएको वृद्धिअनुसार रोजगारी सृजना हुन सकेको छैन ।
रोजगारीका लागि खाडी पुगेकाहरू महामारीको समयमा फिर्ता हुँदा सन् २०२०–२०२३ मा नेपालमा बेरोजगारी दर झन् बढेको प्रतिवेदनमा उल्लेख छ । पछिल्ला २३ वर्षमा नेपालसहित भुटान, भारत, माल्दिभ्ससहितका देशमा काम गर्ने उमेरको जनसंख्या बढे पनि रोजगारीको अनुपातमा गिरावट आएको देखिन्छ । प्रतिवेदनले यस वर्ष नेपालको आर्थिक वृद्धिदर सामान्य रूपमा माथि जाने अनुमान गरेको छ ।
प्रतिवेदनअनुसार पर्यटन पुनरुत्थान र जलविद्युत् निर्यातको बढ्दो गतिले यस वर्ष ३ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धि प्राप्त हुने प्रक्षेपण छ ।
पछिल्ला महीनाहरूमा रेमिट्यान्स निरन्तर बढिरहेकाले निजी उपभोगसमेत बढ्ने सम्भावना रहेको बताइएको छ । यसअघि विश्व बैंकले नै नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण गरेकोमा अहिले केही घटाएको छ । सन् २०२५ मा भने नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ६ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकको छ ।
नेपालको व्यावसायिक वातावरण सुधारका लागि पूँजीगत बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउनुका साथै व्यावसायिक मनोबल बढाउन आवश्यक रहेको विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जर्भासले बताएका छन् । नेपालले ‘व्यवसाय’लाई पुन:व्याख्या गरी त्यसमा डिजिटल उद्यमशीलता समावेश गरी त्यसको प्रवर्द्धनमा ध्यान दिनुपर्ने उनले औंल्याए ।
सूचनाप्रविधि क्षेत्रका कम्पनीहरूले नेपालमा राम्रो गरिरहेको विश्व बैंकका अधिकारीहरूको धारणा छ । ‘डिजिटल उद्यमशीलताबारे यहाँ पर्याप्त चर्चा भएको छैन, त्यसलाई प्रवर्द्धन गर्ने गरी इकोसिस्टम विकास गर्नुपर्छ,’ मंगलवार नेपाल डेभलपमेन्ट अपडेटका मूल विषयबारे जानकारी दिने क्रममा जर्भोसले भने, ‘युवाहरूले सञ्चालन गरेका फ्युजमेशिन, इन्सेसेन्ट रेन, ई–सेवाजस्ता कम्पनी नेपालमा छन्, म अझै धेरै नाम भन्न सक्छु । अब नेपालको अर्थतन्त्र विस्तार गर्ने उनीहरूले नै हो ।’ सूचनाप्रविधिमा आधारित कम्पनीहरूलाई नेपाल आउन र व्यवसाय गर्न उचित वातावरण बनाइनुपर्ने उनको भनाइ थियो । नयाँ सोच र प्रतिस्पर्धी क्षमतासहित व्यवसाय सञ्चालन गरिरहेका युवा उद्यमीका कुरा सुन्न आवश्यक रहेको पनि जर्भाेसले बताए । विश्व बैंकले हालै मात्र यस्ता उद्यमीसँग छलफल गरेको र उनीहरूका काम, योजना र व्यवसायबारे नयाँ/नयाँ अवधारणा थाहा पाउँदा उत्साहित बनेको उनको भनाइ थियो ।
नेपालका लागि विश्व बैंकका वरिष्ठ अर्थशास्त्री अब्दोल गनियो मिजियावाले पनि जटिल शर्तहरूले युवा व्यवसायीलाई बजार प्रवेशमा असहज हुने धारणा राखे । यस्ता समस्या समाधान गरी स्थानीय र अन्तरराष्ट्रिय अनुभव प्राप्त गरेका उद्यमीलाई आपसमा जोड्न मद्दत गरिनुपर्ने मिजियावाको सुझाव थियो ।