काठमाडौं । विप्रेषण आप्रवाहका कारण बैंक, वित्तीय संस्थामा निक्षेप लगातार वृद्धि भए पनि कर्जा प्रवाह अझै सुस्त देखिएको छ । निक्षेप वृद्धिसँगै बैंकहरुले ब्याजदर घटाउँदै लगे पनि आर्थिक गतिविधि बढ्न नसक्दा निजीक्षेत्रमा कर्जा विस्तार हुन सकेको छैन ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्ष (आव) २०८०/८१ को फागुनसम्मको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा सुधार, बैंकको निक्षेप वृद्धि भए पनि आर्थिक गतिविधि नबढ्दा निजीक्षेत्रमा कर्जा विस्तार सुस्त रहेको औंल्याएको छ । चालू आवको फागुनसम्ममा बैंक, वित्तीय संस्थामा निक्षेप ४ खर्ब ३५ अर्ब ८७ करोड (७ दशमलव ६ प्रतिशत)ले बढ्दा निजीक्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ९९ अर्ब ५० करोड (४ दशमलव २ प्रतिशत)ले बढेको छ । फागुनमा बैंकहरुको कर्जा २ अर्ब रुपैयाँले मात्र बढेको छ । दोस्रो त्रैमासको अन्त्यमा बैंकहरुको कर्जा केही विस्तार भए पनि अन्य महीनामा यो घट्दो क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले चालू आवमा ११ दशमलव ५ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य राख्दै मौद्रिक नीति सार्वजनिक गरेको छ । तर, लक्ष्यको आधा पनि कर्जा विस्तार नहुने अवस्था देखिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सोमवार चालू आवको दोस्रो त्रैमासमा ४ प्रतिशतले कुल ग्राहस्थ उत्पादन बढे पनि उत्पादनशील उद्योग क्षेत्रको वृद्धि ऋणात्मक रहेको तथ्यांक सार्वजनिक गरेको छ । यस्तै थोक तथा खुद्रा व्यापारमा पनि शून्य दशमलव ५ प्रतिशत मात्र वृद्धि भएको तथ्यांकमा उल्लेख छ ।
क्षेत्रगत रूपमा बैंक, वित्तीय संस्थाको सबैभन्दा बढी कर्जा प्रवाह हुने क्षेत्र थोक तथा खुद्रा व्यापार हो । तर, पछिल्लो समय बजार मागमा आएको कमीसँगै आयातनिर्यात र औद्योगिक उत्पादनमा गिरावट आइरहेको छ । यसले गर्दा कर्जाको माग नभएको बैंकर बताउँछन् ।
निक्षेप बढेसँगै ब्याजदर घट्दै गए पनि कर्जाको माग बढ्न नसकेको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए । ‘केही महीनायता बैंकको ब्याजदर घट्दो क्रममा छ,’ उनले भने, ‘तर, कर्जाको माग बढ्न सकेको छैन ।’ सरकारले खर्च बढाएर आर्थिक गतिविधि चलायमान नबनाएसम्म कर्जाको माग नबढ्ने उनले बताए ।
राष्ट्र बैंकका अनुसार फागुनमा निक्षेपको औसत ब्याजदर ६ दशमलव ७४ प्रतिशतमा झरेको छ । गत आवको फागुनमा यो ब्याजदर ८ दशमलव ३७ प्रतिशतमा थियो । यस्तै गत फागुनमा १० दशमलव ६४ प्रतिशतमा रहेको बैंकहरुको आधारदर पनि ८ दशमलव ७७ प्रतिशतमा झरेको छ । आधारदर घटेसँगै कर्जाको औसत ब्याजदर फागुनमा १० दशमलव ७८ प्रतिशतमा झरेको छ । एक वर्षअघि कर्जाको औसत ब्याजदर १३ दशमलव शून्य ३ प्रतिशतसम्म पुगेको थियो ।
निक्षेप वृद्धिको तुलनामा कर्जा विस्तार नहुँदा बैंकमा साढे ६ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य पूँजी थुप्रिएको छ । राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरणमार्फत लगातार तरलता प्रशोचन गरे पनि अन्तरबैंक ब्याजदरलाई ब्याजदर कोरिडोरको लक्षित सीमाभित्र कायम गर्न सकेको छैन ।
विप्रेषणमा लगातार वृद्धि
चालू आवको फागुनमा पनि विप्रेषण आप्रवाहमा वृद्धि भएको छ । फागुनसम्ममा विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भई ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह पनि १८ दशमलव ८ प्रतिशतले बढेर ७ अर्ब २४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । फागुनमा मात्र १ खर्ब २२ अर्ब २२ करोड रुपैयाँ बराबर विप्रेषण भित्रिएको छ । पुसमा १ खर्ब २० अर्ब रुपैयाँ भित्रिएकोमा माघमा घटेर १ खर्ब ५ अर्ब कायम भएको थियो । फागुनमा पुन: बढेको हो ।
रेमिट्यान्स वृद्धिसँगै चालु खाता, शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चिति थप बलियो अवस्थामा पुगेको छ । फागुनमा चालू खाता १ खर्ब ६६ अर्ब ८७ करोड रुपैयाँले बचतमा छ । शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोडले बचतमा छ । विदेशी मुद्रा सञ्चिति फागुन मसान्तमा १८ खर्ब ७२ अर्ब ८२ करोड पुगेको छ । अमेरिकी डलरमा सञ्चिति असारको तुलनामा २० दशमलव ८ प्रतिशतले बढेर फागुनमा १४ अर्ब १४ करोड पुगेको छ ।
राष्ट्र बैंकका अनुसार गत फागुनमा उपभोक्ता मूल्य वृद्धिदर (महँगी वृद्धिदर) ४ दशमलव ८२ प्रतिशत कायम भएको छ ।