काठमाडौं । विश्व प्रसिद्ध हुन्डाइको गाडी अव नेपालमै एसेम्बल हुने भएका छन् । कोरियन कम्पनी हुन्डाइको नेपालको लागि आधिकारीक विक्रेता समेत रहेको लक्ष्मी मोटर कर्पोरेशनले नेपालमै एसेम्बल प्लान्ट सञ्चालनमा ल्याउन लागेको हो ।
गणतन्त्र कोरिया र नेपाल बिच कुटनितिक सम्बन्ध स्थापनाको ५०औं वर्षको अवस पारेर उक्त प्लान्ट उद्घाटन गर्न लागिएको छ । शुक्रबार हुने उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित हुने कार्यक्रम रहेको छ ।
हुन्डाई मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी मोटर कर्पोरेसन पनि यही समूहअन्तर्गतकै कम्पनी हो । कर्पोरेसनले ६ महीनाअघि देखिनै नवलपरासीमा प्लान्ट स्थापना गरेर हुन्डाई भेन्यूको परीक्षण उत्पादन गरिरहेको थियो । परीक्षण उत्पादन सफल भएसँगै एसेम्बल प्लान्टबाट हुन्डाई ब्रान्डका भेन्यू व्यवसायिक उत्पादनमा जान लागेको हो । नेपलमै एसेम्बल हुने हुँदा मूल्यरेञ्ज समेत सस्तो हुने विश्वास लिइएको छ ।
चारपाङ्ग्रे सवारी साधनमा यो एसेम्बल प्लान्ट नेपालमै पहीलो पटक शुरू गरिएको कर्पोरेशनले जनाएको छ । यद्यपी एक दशकअघि नै हुलास मोटर्सले नेपालमा मुस्ताङ म्याक्स उत्पादन गरेको थियो । प्रदूषण मापदण्डका कारण देखाउँदै उक्त प्लान्ट बन्द भए यता चारपाङग्रेको एसेम्बल प्लान्ट नेपालमा सञ्चालनमा छैनन् ।
यस अघि कोरियाली कम्पनी मोट्रेक्सले २०७५ चैतमा नेपालमा कार एसेम्बल प्लान्ट खोल्ने घोषणा गरेको थियो । तर काम भने अगाडि बढाएको थिएन । आर्थिक अभियान संग कुरा गर्दै नेपालका लागि दक्षिण कोरियका राजदूत पार्क थेइङले हुन्डाइ जस्तो कम्पनीले नेपालमै एसेम्बल प्लान्ट शुरू गर्दा कोरियका अन्य कम्पनिलाई पनि नेपाल आउन प्रोत्साहान मिल्ने बताएका थिए ।
कोरियाले पनि एसेम्बल प्लान्टबाटै अटोमोबाइल बजारमा प्रबेश गरेको बताउँदै उनले निकट भबिष्यमा कार नै नेपालमा उत्पादन गर्न सक्ने बताएका थिए । 'नेपालमा जस्तै कोरियाले पनि एसेम्बल प्लान्ट बाटै अटोमोबाइलको विश्व बजारमा प्रवेश गरेको थियो । नेपालले पनि निकट भबिष्यमा आफ्नै कार उत्पादन गर्न सक्छ,' उनले भनेका थिए ।
कर्पोरेशनका अनुसार ९ सय ९८ सीसीको भेन्यू एस(ओ), ११ सय ९७ सीसीको भेन्यू एस १.२ एमटी र ११ सय ९७ सीसी भेन्यू एसएक्स १.२ एमटी मोडलका सीकेडी आयात गरेर एसेम्बल थालेको हो। एसेम्बल भएर बिक्रीमा आउने भेन्यू पेट्रोल इन्जिनयुक्त हुन्।