काठमाडौं । सरकारले १ वर्षअघि नै आयातमा प्रतिबन्ध लगाएका दुग्ध पदार्थ बजारमा छ्यापछ्याप्ती पाइन थालेको भन्दै स्वदेशी दुग्ध उत्पादक किसान तथा डेरी उद्योगीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल डेरी एशोसिएशन, डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघ लगायतले प्रतिबन्धित दुग्धपदार्थ आयातमा रोक लगाउन माग गर्दै प्रहरी प्रशासनदेखि कृषिमन्त्रीसम्मलाई ध्यानाकर्षण गराएका हुन् । एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले १ साताअघि मन्त्रालयलाई यस विषयमा ध्यानाकर्षण गराएको बताए ।
२०८० फागुन ३ गतेदेखि सरकारले विभिन्न नौ किसिमका दुग्धजन्य पदार्थको आयातमा रोक लगाएको छ । सरकारले आयात रोके पनि ती वस्तु बजारमा जताततै पाइने गरेको व्यवसायीको गुनासो छ । खुला सीमाका कारण आयात रोकिएको दुग्ध पदार्थ अवैध बाटोबाट आइरहेको उनीहरूको विश्वास छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले १ वर्षअघि खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागलाई पत्र लेख्दै त्यस्ता वस्तुको आयातमा रोक लगाउन भनेको थियो । मन्त्रालयले विभागलाई लेखेको पत्रअनुसार चिल्लो हटाइएको दूध (स्किम मिल्क) चिनी वा अन्य गुलियो पदार्थ नमिसिएको (डब्ल्यूएमपी), धूलो दूध, चिनी मिसाएको वा नमिसाएको नौनी (बटर), घिउ, छुर्पी, प्रशोधित भुजुरी वा धूलो नपारेको चिज र भुजुरी पारेको वा धूलो पारेको सबै प्रकारका चिज छन् ।
- नेपाल डेरी एशोसिएशन, डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघलगायतले प्रतिबन्धित दुग्धपदार्थ आयातमा रोक लगाउन माग गर्दै प्रहरी प्रशासनदेखि कृषिमन्त्रीसम्मलाई ध्यानाकर्षण गराएका हुन्
- आयात प्रतिबन्ध लगाइएका वस्तुमा चिल्लो हटाइएको दूध (स्किम्ड मिल्क) चिनी वा अन्य गुलियो पदार्थ नमिसिएको (डब्ल्यूएमपी), धूलो दूध, चिनी मिसाएको वा नमिसाएको नौनी (बटर), घिउ, छुर्पी, प्रशोधित भुजुरी वा धूलो नपारेको चिज र भुजुरी पारेको वा धूलो पारेको सबै प्रकारका चिज छन्
सरकारले आयात रोकेका दुग्धजन्य पदार्थ बजारमा जताततै विक्री भइरहेको भेटिएको दाहालले बताए । नेपालकै उत्पादनको बजार घटेको अवस्थामा बाह्य मुलुकबाट आयात हुँदा समस्या भएको उनको भनाइ छ ।
नेपालका पाँचतारे होटेल तथा रिसोर्टहरूमा त्यस्ता वस्तुको आवश्यकता भएकाले आयात भइरहेको उनले बताए । तर, ती वस्तु सानो परिमाणमा सरकारले अहिले पनि आयात गर्न दिएको भन्दै उनले अवैध बाटोबाट आयात भइरहेकाले दुग्ध व्यवसायीलाई समस्या परेको बताए । साथै सरकारको राजस्वमा समेत यसले असर गर्ने भन्दै उनले होटेल सञ्चालकलाई समेत महँगो परेको बताए ।
देशभित्र दुग्ध पदार्थको मौज्दात बढेको भन्दै आयातमा प्रतिबन्ध लगाएको सरकारले समस्याको अस्थायी समाधानका लागि दूध तथा दुग्धजन्य पदार्थ आयात गर्न अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने विभागीय मन्त्रीस्तरमा निर्णय भएको पत्र पठाएको थियो ।
आर्थिक वर्ष (आव) २०८०/८१ मा ५० करोड ५ लाख रुपैयाँ बराबरको दुग्ध पदार्थ आयात भएको थियो । सोमध्ये ८१ हजार रुपैयाँको चिल्लो हटाइएको (स्किम्ड मिल्क), ३ करोड ८९ लाख ९८ हजार रुपैयाँको चिनी वा अन्य गुलियो पदार्थ नहालिएको दुग्ध पदार्थ आयात भएको छ । २ करोड ५५ लाख ५ हजार रुपैयाँको ह्वे र परिवर्तित जमाएको/नजमाएको, चिनी हालेको/नहालेको, गुलियो पारेको/ नपारेको दुग्ध पदार्थ, ४ करोड ४ लाख ६० हजार रुपैयाँको नौनी बटर, १० लाख ३९ हजारको घिउ आयात भएको छ । त्यसैगरी १ करोड ७१ लाख १७ हजार रुपैयाँको भुजुरी वा धूलो पारेको र पैठारीमा पूर्ण रोक लगाएका सबै प्रकारका वस्तु, ३८ करोड ७३ लाख ७ हजार बराबरको अन्य दुग्ध पदार्थ आयात भएको थियो । विभागको तथ्यांकअनुसार चालू आवको ८ महीनामा पनि ४ करोड रुपैयाँको यी दुग्ध पदार्थ आयात भएको देखिन्छ ।
यसअघि गत कात्तिकमा भारतले नेपाली व्यवसायीलाई ब्युरो अफ इन्डियन स्ट्यान्डड्र्स (बीआईएस) प्रमाणपत्रको वितरणमा रोक लगाएपछि दुग्ध पदार्थको आयात खोल्ने मनस्थितिमा सरकार पुगेको थियो । यद्यपि हालसम्म यसबारे कुनै प्रगति नभएको कृषि मन्त्रालयकी प्रवक्ता मतिना जोशी बैद्यले बताइन् । होटेल व्यवसायीले भने दुग्ध पदार्थको आयातमा प्रतिबन्ध लगाउँदा समस्या भएको बताउँदै आएका छन् ।