क्यानडा । क्यानडाको संसदीय चुनावको मतगणना जारी रहँदा प्रधानमन्त्री मार्क कार्नीको दल लिबरल पार्टी अग्रस्थानमा रहेको छ ।
समाचार संस्था बीबीसीका अनुसार लिबरल पार्टीले ३४३ सदस्यीय संसदको १६८ सिटमा अग्रता लिइरहेको (नेपाली समयअनुसार ३:३० बजेसम्म) छ । यही आधारमा सिट जिते लिबरललाई बहुमतका लागि ४ सिट अपुग हुने देखिन्छ । क्यानडाको संसदमा बहुमतका लागि १७२ सिट आवश्यक पर्छ ।
विपक्षी कन्जर्भेटिभ पार्टीले १४४ स्थानमा अग्रता लिएको छ । यस्तै, ब्लक केबेक्वा २३, भारतीय मूलका सिख समर्थक रहेको न्यू डेमोक्रेटिक पार्टी (एनडीपी) ७ र ग्रिन पार्टी १ स्थानमा अगाडि देखिएका छन् ।
स्रोत : इलेक्सन क्यानडा ।
लिबरल पार्टीले सरकार बनाउन सक्ने सम्भावना देखिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अहिलेसम्मको मतगणनाका आधारमा लिबरल र कन्जर्भेटिभ पार्टीको मत प्रतिशत बढेको देखिएको छ भने बाँकी पार्टीको मत प्रतिशत घटेको छ ।
लिबरलको १०.९ प्रतिशत र कन्जर्भेटिभको ७.७ प्रतिशतले मत बढेको छ । यस्तै, एनडीपीको भने ११.६ प्रतिशतले मत घटेको बीबीसीले जनाएको छ ।
मतगणनाको परिणाम बुधवार बिहानसम्म आइसक्ने अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकासँग व्यापार तनावकै बीच प्रधानमन्त्री नियुक्त भएका कार्नीले समयअगावै चुनाव घोषणा गरेका थिए । तोकिएको समयअनुसार आगामी अक्टुबरमा चुनाव हुनुपर्ने थियो ।
अमेरिका र भारतसँगको सम्बन्ध खराब रहेका बेला भएको चुनाव घोषणा भएपछि कन्जर्भेटिभ पार्टीले लिबरललाई प्रतिस्थापन गर्ने आँकलन गरिएको थियो ।
अमेरिकासँग व्यापार तनाव, भारतसँगको बिग्रँदो सम्बन्धलगायत कारणले दबाब सिर्जना भएपछि गत जनवरी ६ मा तत्कालीन लिबरल पार्टीका नेतासमेत रहेका प्रधानमन्त्री जस्टिन ट्रुडोले दुवै पदबाट राजीनामा गरेका थिए । उनको राजीनामापछि कार्नी दलको नेता निर्वाचित भएका थिए । त्यसपछि उनी गत मार्च १४ मा प्रधानमन्त्री नियुक्त भएका थिए । एजेन्सीको सहयोगमा