वासिङटन डिसी (अमेरिका) । अमेरिकाले निश्चित संख्यामा बेलायती कारहरूमा आयात कर घटाउन र केही स्टिल तथा एल्युमिनियमलाई भन्सारमुक्त रूपमा देशमा ल्याउन अनुमति दिन सहमति जनाएको छ । यो अमेरिका र बेलायतबीच हुने नयाँ व्यापार सम्झौताको एक भागको रूपमा रहेको बताइएको छ ।
यो सहमति अमेरिकाले गत महीना लागू गरेको भन्सार शुल्कबाट बेलायती उद्योगहरूलाई राहत दिने उद्देश्यले गरिएको बताइएको छ । गत महीना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतलगायत ७५ भन्दा बढी देशको सामान आयातमा २५ प्रतिशत भन्सार शुल्क लगाएका थिए ।
यो सहमतिअनुसार अधिकांश बेलायती सामानहरूमा १० प्रतिशत भन्सार शुल्क कायम रहनेछ।
दुवै देशका नेताहरूले यस सम्झौतामा निकै महत्त्व दिएका छन् । तर, विश्लेषकहरूले यसले बेलायत–अमेरिका बीचको व्यापारिक सम्बन्धमा खासै परिवर्तन नगरेको बताएका छन्।
पश्चिम मिडल्यान्ड्सको जगुआर ल्याण्ड रोभरको कारखानाबाट बोल्दै सर कीर स्टार्मरले यो सम्झौतालाई ‘शानदार अवसर’ भनेका छन्। ‘यो ऐतिहासिक सम्झौताले बेलायती व्यवसाय र कामदारहरूलाई फाइदा पुर्याउँछ । हजारौं रोजगारीलाई जोगाउँछ,’ उनले भने ।
उक्त सहमतिअनुसार वार्षिक १ लाख बेलायती कारमा आयात कर घटाएर १० प्रतिशत गरिनेछ । यस्तै, स्टिल र एल्युमिनियम आयातमा लाग्ने कर पनि २५ प्रतिशतबाट घटाइनेछ र सट्टामा कोटा प्रणाली लागू गरिनेछ। यसैगरी, दुवै देशबीच १३ हजार मेट्रिक टन बीफ आयात–निर्यात भन्सारमुक्त गरिनेछ ।