काठमाडौं । पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँको आधारमा ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यस आधारमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३१ करोड ६३ लाख रुपैयाँ बराबरको ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर कम्पनीले निष्कासन गर्नेछ । ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ९४ करोड ८९ लाख रुपैयाँ कायम हुनेछ ।
हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले असार २ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असार १ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
योग्य आवेदकहरूले आफ्नो हक बमोजिमको शेयर खरीदका लागि साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयरएपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सक्नेछन् ।
साथै मेरो शेयर अनलाइन पनि आवेदनका लागि प्रयोग गर्न सक्नेछन् । कम्पनीले आयोजना निर्माणका लागि लिइएको कर्जा भुक्तानीका लागि र नयाँ आयोजना निर्माणका लागि खर्च जुटाउन हकप्रद शेयर विक्री गर्न लागेको हो ।