काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म निष्कासन गरेको २७ प्रतिशत हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ३ लाख ९० हजार ३५० जना आवेदकहरुमा १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता हकप्रद शेयर असार १२ गते बाँडफाँट गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको आधारमा १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।
यस आधारमा यो चरणमा २ लाख २४ हजार ७२८ कित्ता हकप्रद शेयर भने विक्री नभएको देखिन्छ । कम्पनीले अवितरित यी शेयर लिलामीमा विक्री गर्नेछ । सम्पूर्ण कित्ता हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पछि भने कम्पनीको चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ कायम हुनेछ । कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशनमा ५ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्न हकप्रद शेयर निष्कासन गरेको हो । हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।