काठमाडौं । पछिल्लो समय नेप्से परिसूचक निरन्तर ओरालो लागेको छ । बजार घट्दा सबै समूहका समूहगत सूचकहरु घटेका छन् । मार्च २१ मा नेप्से परिसूचक २ हजार ४८ दशमलव ५७ विन्दुमा रहेकोमा अप्रिल २२ मा घटेर १ हजार ९६९ दशमलव ०२ विन्दुमा झरेको छ । यस एक महीना अवधिमा कारोबारमा आएका १३ओटै समूहगत परिसूचक सबै घटेका छन् ।
एक महीनाको डाटाबाट पनि स्पष्ट हुन्छ । सबैभन्दा बढी बैंकिङ्ग समूहको सूचक घटेको छ । मार्च २१ मा यस समूहको सूचक १ हजार ९० दशमलव ९७ विन्दुमा रहेकोमा अप्रिल २२ मा घटेर १ हजार २७ दशमलव ६७ विन्दुमा झरेको हो ।
यस समूहका कम्पनीहरुको शेयर पूँजी अत्याधिक धेरै भएकाले पनि लगानीकर्ताको रोजाईमा नपरेको हुन । यसोत बैंकहरुले प्रकाशित चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार १० बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ भने नाफा घट्दो रहेको छ । गत वर्षको नाफाबाट ९ बैंकले लाभांश दिएका थिएनन भने अहिलेसम्मको वित्तीय विवरण हेर्दा यस वर्ष अझै बढ्ने देखिन्छ । यी कारण पनि बाणिज्य बैंकको शेयर मूल्य घटेको देखियो ।
एक महीना अवधिमा समूहगत परिसूचक घट्ने दोस्रोमा विकास बैंक समूहको सूचक ४ दशमलव ५३ प्रतिशत घटेको छ । मार्च २१ गते यस समूहको सूचक ४ हजार ४४ दशमलव ५९ विन्दुमा रहेकोमा अप्रिल २२ मा घटेर ३ हजार ८६१ दशमलव २३ मा झरेको छ ।
समूहगत सूचक कम घट्नेमा वित्त समूहको सूचक १ दशमलव ३१ प्रतिशत घटेको छ । यस समूहको सूचक मार्च २१ मा १ हजार ९६९ दशमलव ८५ रहेकोमा अप्रिल २२ मा १ हजार ९४३ दशमलव ९९ विन्दुमा कायम भएको छ । त्यस्तै लघुवित्त समूहको सूचक १ दशमलव ८२ प्रतिशत घटेको छ ।
स्रोत : नेप्से