काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थाले बैंकभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका छन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको दोस्रो लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा उनले सहकारी आफ्नो मूल्य मान्यता र सिद्धान्तविपरीत अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस्या सिर्जना भएको बताएका हुन् ।
जुन उद्देश्यका साथ सहकारी स्थापना भएको थियो त्यसको खिलाप गर्दै काम भइरहेको धारणा उनको छ । ‘सहकारीहरू बैंकभन्दा ठूलो कारोबार गर्ने अभ्यासमा लागे । सहकारीको मूल्य मान्यताविपरीत काम गर्न थाले,’ उनले भने, ‘बचतकर्ताको बचतलाई दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुँदैन, सहकारीमा आवद्धहरूले नै समाधान गर्ने हो, सरकारले सल्लाह दिने हो, यो बाटो जाऊ भन्ने हो । सरकारले समस्या समाधान गर्ने होइन ।’
सहकारीका सदस्यले पनि सबै कुराको जिम्मा सञ्चालकलाई दिन नहुने उनको धारणा छ । ‘शिक्षक, डाक्टर तथा वकिल सबै यो क्षेत्रमा छन्, सर्वप्रथम मेरो कर्तव्य के हो बुझ्नुपर्छ, त्यो बुझ्न सकियो भने यो समस्या आउँदैन’, मन्त्री अधिकारीले भने ।
लेखा सुपरीवेक्षण समितिमा पनि खोट रहेको उनको भनाइ छ । अहिलेको समस्या समाधान गर्नका लागि अहिलेदेखि नै लाग्न आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले अर्थतन्त्रको एउटा महत्त्वपूर्ण खम्बामा धमिरा लागेको धारणा राखे । उनले सहकारी अभियान भूमरीमा परेको बताए ।
‘सहकारीहरूले के–कस्तो काम गरेका छन्, के–कस्तो कमीकमजोरी गरेका छन् । आत्मसमीक्षा गर्ने बेला भएको छ, अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको क्षेत्र अहिले आफैं ठूलो समस्यामा छ, यसले अर्थतन्त्रमै ठूलो असर पुर्याउन सक्छ, यस विषयमा हामी सबै सजग बन्नुपर्छ,’ उनले भने ।
‘सहकारीमा मुद्दति निक्षेप राख्ने छैन । तर हामीले डबल पैसा दिन्छौं भनेर पैसा ल्याऔं, ब्याजको लोभमा फसाउँदै गयौं । तीन वर्षमा पैसा डबल दिने संस्था संसारमै कतै भेटिन्छन् ?’, उनले प्रश्न गर्दै भने, ‘यो अवस्था आउनुमा दोष कस्को ?’
यस्तै, सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीको खोल ओडेर बदमासी गर्नेलाई कानुनी कारबाही गरेर छाड्ने बताए । उनले सहकारीको प्रभावकारी नियमनका लागि बैशाख मसान्तभित्रै ऐनको मस्यौदा सार्वजनिक गर्ने बताउँदै अब सहकारी देखाएर गलत गर्नेलाई कारवाही गरेरै छाड्ने बताएका हुन् ।
त्यसैगरी, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारीमा सदस्यले पनि आफ्नो भूमिका निर्वाह नगर्दा पनि सस्या सिर्जना हुनुको एउटा कारण रहेको बताइन् । उनले सहकारीसँगै सहकारीका सदस्यले पनि सहकारप्रति ‘अनरसिप’ महसुस गर्नुपर्ने धारणा राखिन् ।
त्यस्तै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले आफू बिरामी भएर भारत गएको समयमा भागेको भनेर गलत प्रचार भएको गुनासो गरे । उनले आफ्नो महत्वपूर्ण समय सहकारीमै बिताएको र सहकारीको समस्या समाधानका लागि काम गरिरहने धारणा राख्दै आफूमाथि राजनीति भएको पनि जानकारी गराए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले यो गोष्ठीले सहकारीको स्वनियमनका लागि प्रभावकारी प्लेटफर्म बन्न सक्ने विश्वास व्यक्त गरे । उनले सहकारी लोकन्तत्रको पाठशाला भएको र लेखासुपरिवेक्षण समिति सहकारीको आँखा रुपमा हेरिएको चित्रण गरे ।
यस्तै, उद्घाटन सत्रको समापन कार्यक्रममा बोल्दै नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले पृथक ढंगले यो कार्यक्रमको आयोजना गरेको बताए । उनले यो गोष्ठीले सहकारीको वर्तमान समस्या समाधानका लागि महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।