विराटनगर । मेचीपारि भारतीय नाका पानीटं्याकीमा रोकिएका नेपाली चिया बोकेका २२ ओटा ट्रकलाई ६ दिनपछि मंगलवार राति भारतीय भन्सार कार्यालयले पश्चिमबंगाल प्रवेश दिएको छ । यी ट्रकले २ हजार २ सय टन नेपाली तयारी चिया बोकेका थिए ।
भारतीय भन्सार कार्यालय पानीटं्याकीले बिहीवार ती ट्रकलाई नाकामा रोकी शतप्रतिशत ल्याब परीक्षण गरी गुणस्तरयुक्त भएको प्रमाणपत्र ल्याउन भनेको थियो ।
पानीट्ंयाकी भन्सारले यसअघि ३/३ महीनामा ५ देखि २५ प्रतिशत मात्र चियाको नमूना परीक्षण गरेर छाड्ने गरेको थियो । यसपालि भने अग्रिम जानकारीविनै नयाँ प्रावधान लागू भएको भन्दै चियाको जाँचपास गर्न मानेको थिएन । चियाको नमूना परीक्षण पास भएपछि भारतीय व्यापारीको मागका आधारमा यी चिया विक्रीवितरणका लागि भारत प्रवेश भएको थियो ।
केही दिन भारतीय अवरोध निरन्तर रहेपछि नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीसहितको टोलीले मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी चिया निकासीका समस्या र त्यसको दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गरेको थियो । यसबीचमा भएको नेपालको कूटनीतिक पहलपछि मंगलवार राति ९:३० बजे भन्सार एजेन्टलाई बोलाएर भारतीय भन्सार कार्यालय पानीटं्याकीले चिया बोकेका ट्रक छाडिदिएको पराजुलीले आर्थिक अभियानलाई बताए ।
पानीटं्याकी भन्सारबाट चिया बोकेका २२ गाडी माल छुटेको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले समेत पुष्टि गरे । उनले भने, ‘मैले पानीटं्याकी भन्सारमा अनौपचारिक रूपमा बुझ्दा भारतीय सरकारको उपल्लो तहबाट आएको मौखिक आदेशको भरमा नेपाली चिया छाडिएको जानकारी पाएँ ।’
भारतले अहिले रोकिएको चिया मात्र छाडेको हो कि पछि पनि साविकको व्यवस्था अनुसार निर्यात गर्न पाइने हो स्पष्ट नभएको रेग्मीले बताए । यो खेपमा निर्यात भएको चिया वार्षिक निर्यातको सानो अंश मात्र हो । फेरि पनि भारतले अहिलेकै जस्तो बहानामा अवरोध गरे निर्यातमा व्यापक गिरावट आउन सक्ने अनुमान गरिएको छ ।
यो खेप प्रवेश गर्नेबित्तिकै गोदाममा रहेको सय करोड रुपैयाँ मूल्य बराबरको चिया भारत प्रवेश गर्ने तयारीमा रहेको नेपाल चिया उत्पादक संघका अध्यक्ष पराजुलीले केही दिन अघि बताएका थिए ।
चालू आर्थिक वर्ष २०८०/८१ को ९ महीनामा २ अर्ब १८ करोड ८९ लाख २२ हजार रुपैयाँ बराबरको ९ हजार ८०३ टन चिया निकासी भएको भन्सार विभागले अभिलेखले देखाउँछ । गत आर्थिक वर्ष २०७९/८० को ९ महीनामा २ अर्ब ६६ करोड ५४ लाख १८ हजार रुपैयाँ मूल्यको १३ हजार ३११ टन चिया निर्यात भएको थियो ।
भारतीय अवरोध, बजारमा चियाको मूल्य घट्नु र नेपाली चियाको अक्शन नहुनुले पनि नेपाली चियाको बजार घट्दै गएको व्यवसायी बताउँछन् । पराजुलीका अनुसार नयाँ बोटका कारण चिया उत्पादन बढिरहेको छ । तर, बजार सुनिश्चितताको अभावमा बढेको उत्पादन कसरी खपत गराउने भन्ने चिन्ता छ ।
नेपाली चियाको सबैभन्दा ठूलो बजार भारत हो । यसले गर्दा भारत सरकारको नीतिले नेपाली चियाको बजार निर्धारण गर्छ । गत आर्थिक वर्ष नेपालले ३ अर्ब ९३ करोड रुपैयाँ बराबरको चिया निर्यात गरेकोमा ३ अर्ब ४३ करोडको भारत गएको नेपाल राष्ट्र बंैकको तथ्यांकमा उल्लेख छ ।
भारतीय बजारमा अधिक निर्भरता घटाउने काम भने हालसम्म हुन सकेको छैन । नेपालबाट प्रमुख कृषि उत्पादनका रूपमा भारतलगायत विश्वका २२ मुलुकमा अर्थाेडक्स र सीटीसी चिया निकासी हुने गर्छ । अर्थाेडक्स भारतलगायत तेस्रो मुलुक जान्छ भने सीटीसीको प्रमुख बजार भारत हो ।