काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार धितोपत्र दोस्रो बजारमा १२ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको छ ।
उक्त रकम बराबरको २ करोड ८६ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको जानकारी नेप्सेले दिएको हो । १२ अर्बभन्दा माथिको कारोबार तीन महीनापछि भएको हो ।
यसअघि गत फागुन २० गते १२ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको २ करोड ६३ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । बुधवार भने ९ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको २ करोड २० लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । यो दिन कुल कारोबार रकममा सर्वाधिक हिस्सा ङादी ग्रुप पावरले ओगटेको छ ।
ङादी ग्रुप पावरको १ अर्ब ८ करोड १४ लाख रुपैयाँभन्दा बढीको २६ लाख ५९ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो । यो दिन ङादी ग्रुप पावरको शेयर मूल्य भने ३ दशमलव ८६ प्रतिशत बढेर प्रतिकित्ता ४०७ रुपैयाँ ११ पैसा कायम भएको छ ।
कारोबार रकम बढेको यो दिन नेप्से घट्ने क्रम भने जारी नै रहेको छ । बुधवार १३ दशमलव ६९ अंकले घटेको नेप्से बिहीवार ९ दशमलव शून्य ८ अंकले घटेर २ हजार ६५५ दशमलव ३८ विन्दुमा बन्द भएको हो । यस दिन अधिकतम २ हजार ६७२ दशमलव ४२ विन्दुमा पुगेको नेप्से न्यूनतम २ हजार ६५४ दशमलव ६९ विन्दुसम्म झरेको थियो ।
बिहीवारको कारोबारमा ९९ कम्पनीको धितोपत्र मूल्य बढेको छ भने १४९ कम्पनीको धितोपत्र मूल्य घटेको छ । पियोर इनर्जीको शेयर मूल्य मात्र यो दिन उच्च दरमा बढेको छ । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत अर्थात् प्रतिकित्ता ७४ रुपैयाँ ९० पैसाले बढेर अन्तिम मूल्य ८२४ रुपैयाँ २७ पैसा कायम भएको हो ।
गुराँस लघुवित्तको शेयर मूल्य भने ९ दशमलव ९० प्रतिशत घटेको छ । सर्वाधिक शेयर मूल्य घटेको यस कम्पनीको प्रतिकित्ता २७२ रुपैयाँ २३ पैसा कम अन्तिम मूल्य प्रतिकित्ता २ हजार ४७६ रुपैयाँ ४७ पैसा कायम भएको छ ।
बिहीवार होटल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाएको देखिन्छ । होटल तथा पर्यटन समूहको परिसूचक यस दिन २ दशमलव १४ प्रतिशत बढेको हो । योसँगै जलविद्युतको शून्य दशमलव २२ प्रतिशत, वित्तको शून्य दशमलव ८९ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव शून्य ९ प्रतिशत बढेको छ ।
यस दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक १ प्रतिशत घटेको छ । बुधवारको तुलनामा कुल बजार पूँजीकरण १५ अर्ब १३ करोड रुपैयाँभन्दा बढीले घटेर ४४ खर्ब २३ अर्ब ३ करोड ७२ लाख रुपैयाँ कायम भएको छ । बुधवार कुल बजार पूँजीकरण ४४ खर्ब ३८ अर्ब १७ करोड ५० लाख रुपैयाँ थियो ।