काठमाडौं । अमेरिकी सरकारले गत जनवरीमा स्थगित गरेको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) अघि बढाउने संकेत देखिएको छ ।
एमसीसीले सन् २०२६ का लागि बजेट प्रस्ताव गरेपछि उक्त अमेरिकी सहयोग निकायको अस्तित्व कायम रहने संकेत देखिएको हो । एमसीसीले आफ्नो वेबसाइटमा राखेको विवरणअनुसार सन् २०२६ को लागि कुल २२ करोड ४० लाख अमेरिकी डलर बजेट विनियोजन गर्न प्रस्ताव गरेको छ ।
यो रकम गत वर्ष (सन् २०२५) मा विनियोजन गरिएको रकमको तुलनामा एक चौथाइ मात्र हो । सन् २०२५ मा एमसीसीका लागि ९३ करोड अमेरिकी डलर बजेट विनियोजन गरिएको थियो ।
स्रोत : एमसीसी
आगामी वर्षका लागि प्रस्ताव गरिएको बजेटमध्ये आधाभन्दा बढी प्रशासनिक खर्चका लागि छुट्याइएको छ । उक्त शीर्षकमा १२८ मिलियन डलर छुट्याइएको एमसीसीद्वारा गत मेमा सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।
यस्तै कम्प्याक्ट डेभलपमेन्ट ओभरसाइट शीर्षकमा ९१.५ मिलियन डलर र इन्सपेक्टर जनरलको कार्यालयका लागि ४.५ मिलियन डलर विनियोजनको प्रस्ताव गरिएको छ ।
बजेट प्रस्ताव घटेसँगै नेपाललगायत देशको कार्यक्रम प्रभावित हुने देखिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा पदभार ग्रहण गरेपछि (गत जनवरी २०मा) एमसीसी परियोजना ९० दिनका लागि स्थगित गर्ने निर्णय गरेका थिए ।
साथै, १.२ अर्ब डलर पुराना खर्च नभएको बजेट रकम रद्द गर्ने निर्णयसमेत गरिएको छ।