वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले बीमा निर्देशिकामा राखिएको ‘आतंकवाद प्रिमियम’ हटाउन माग गरेको छ । यो व्यवस्थाका कारण सेवाग्राहीलाई अनावश्यक आर्थिक भार थपिएको भन्दै यस्तो माग गरिएको हो ।
मञ्चका अध्यक्ष सुनील श्रेष्ठको अगुवाइमा रहेका अधिकारकर्मीको टोलीले शुक्रवार बीमा प्राधिकरण मधेश प्रदेश प्रमुख कुसुम शर्मालाई भेटेर यस्तो माग गरेका हुन् ।
बीमा प्राधिकरणले २०८० असोजदेखि लागू हुने गरी जारी गरेको बीमा निर्देशिकामा कानूनले स्थापित गरेको उपभोक्ताको छनोटको अधिकारलाई कुण्ठित गर्ने गरी बीमामा आतंकवाद प्रिमियम लिइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
निर्देशिकाको यो व्यवस्थाले नेपालको संविधान २०७२ ले मौलिक हकको रूपमा स्थापित गरेको उपभोक्ताको अधिकार र उपभोक्ता ऐन २०७५ को दफा ६ मा व्यवस्था गरेको उपभोक्ताको छनोटको अधिकारसमेत कुण्ठित गरेकोप्रति अधिकारकर्मीहरूले आपत्ति जनाएका छन् ।
राज्यले अहिले कुनै पनि संघसंगठन र समूहलाई आतङ्ककारी घोषणा नगरेकोले निर्देशिकाको सो प्रावधान हटाउनुपर्ने उनीहरूको माग छ ।