काठमाडौंं । चैतमा सूचीकृत कम्पनीहरूमध्ये सर्वाधिक रकमको कारोबारमा गोर्खाज फाइनान्सले सर्वाधिक हिस्सा ओगटेको छ । चैतमा १८ दिन कारोबार भएको बजारमा ५७ अर्ब २२ करोड ४१ लाख रूपैयाँभन्दा बढीको १५ करोड ५९ लाख १२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । कुल कारोबारमा सर्वाधिक हिस्सा ओगटेको गोर्खाज फाइनान्सको ४ दशमलव ९१ प्रतिशत स्वामित्व रहेको देखिन्छ । गोर्खाज फाइनान्सको चैतमा २ अर्ब ८० करोड ७१ लाख रूपैयाँ बराबरको ३३ लाख २९ हजार कित्ता शेयर कारोबार भएको हो । सर्वाधिक रकमको शेयर कारोबार भएको गोर्खाज फाइनान्सको शेयरमूल्य पनि बढेको छ । फागुन मसान्तसम्म ७५५ रूपैयाँ रहेको गोर्खाज फाइनान्सको शेयरमूल्य चैत मसान्तसम्म प्रतिकित्ता ६१ रूपैयाँले बढेर अन्तिम मूल्य ८१६ रूपैयाँ कायम भएको थियो । पछिल्लो कारोबार दिन भने गोर्खाज फाइनान्सको शेयरमूल्य ७५५ रूपैयाँनै कायम भएको छ ।
चैतमा सर्वाधिक रकमको कारोबार भएका दश कम्पनी :
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
चैतमा सर्वाधिक रकमको कारोबार गर्ने दश कम्पनीभित्र गोर्खाज फाइनान्ससँगै शिवम् सिमेन्ट, सोनापुर मिनरल्स एण्ड आयल, सर्वोत्तम सिमेन्ट, अपर तामाकोशी, हिमालयन इन्स्योरेन्स, माछापुच्छ्रे बैंक, सूर्यज्योति लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी र घोराही सिमेन्ट रहेका छन् । माछापुच्छ्रे बैंक र नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर यो महीनामा उच्च कारोबारमा आएका हुन ।
चैत ६ गते धितोपत्र दोस्रो बजारमा कारोबार शुरू भएको सर्वोत्तम सिमेन्टको शेयर कारोबार सर्वाधिक तेस्रो नम्बरमा रहेको छ । सर्वोत्तम सिमेन्टको चैतमा १ अर्ब ८७ करोड रूपैयाँभन्दा बढीको १७ लाख ८५ हजार कित्ता शेयर कारोबार भएको हो । लगातार सातौ कारोबार दिनसम्म सकारात्मक सर्किट मूल्यमा कम्पनीको शेयर कारोबार भएको थियो ।
पूँजी बृद्धिका क्रममा रहेका दुई पुनर्बीमा कम्पनीहरूको शेयर कारोबार पनि सर्वाधिक दश कम्पनीभित्रै परेका हुन । हिमालयन रिइन्स्योरेन्स छैठौ नम्बरमा र नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर नवौं नम्बरमा सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीको सूचीमा परेका हुन । ८० प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी गरेको हिमालयन रिइन्स्योरेन्सको चैतमा १ अर्ब ३३ करोड रूपैयाँभन्दा बढीको २१ लाख ७५ हजार कित्ता र कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ५२ लाख रूपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ । नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्सको शेयरमूल्य भने फागुनको तुलनामा चैतमा घटेको छ । हिमालयन रिइन्स्योरेन्सको प्रतिकित्ता १३१ रूपैयाँ ८० पैसाले र नेपाल पुनर्बीमा कम्पनीको प्रतिकित्ता १२ रूपैयाँ ९० पैसाले शेयरमूल्य घटेको देखिन्छ ।