काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका विषयगत समितिको नेतृत्व चयन भएको छ । चेम्बर अन्तरर्गतका २४ ओटा विभागको सभापति चयन गरिएको हो । चेम्बरले विपद् व्यवस्थापन परिषद्को सभापतिमा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा, महिला चेम्बरको सभापतिमा उपाध्यक्ष उर्मिला श्रेष्ठ, रोजगारदाता परिषद्को सभापतिमा उपाध्यक्ष दीपक श्रेष्ठलाई चयन गरेको हो ।
त्यस्तै, उपाध्यक्षहरू सुरेन्द्रकुमार श्रेष्ठलाई वस्तुगत समन्वय परिषद्, नीलकण्ठ चौलागाईंलाई संस्थागत समन्वय परिषद्, सन्तोषकुमार पाण्डेलाई जिल्ला समन्वय परिषद्को सभापतिको जिम्मा दिइएको छ । त्यस्तै मानार्थ उपाध्यक्ष अर्जुनप्रसाद शर्मा अन्तरराष्ट्रिय प्रवर्द्धन समितिको सभापति चयन भएका छन् ।
चेम्बरले उपभोक्ता हित आपूर्ति, स्थानीय निकाय, प्रशासन तथा स्थानीय प्रशासन, सुरक्षा समन्वय समितिको सभापतिमा देवेन्द्रभक्त श्रेष्ठलाई चयन गरेको छ । चेम्बरको राजस्व समितिमा पर्शुराम दाहाल, अतिथि सत्कार, क्लब तथा मर्मतसम्भार समितिको सभापतिमा राजारत्न तुलाधर, मेला समितिमा राष्ट्रभूषण चाकुबजी, कृषि जडिबुटी तथा वनजन्य समितिमा कृष्णमान श्रेष्ठ, उद्योग वाणिज्य समितिको सभापतिमा भीमलाल पौडेल चयन भएका छन् । त्यस्तै, चेम्बरको सूचना प्रचार प्रसार समितिमा दीपककाजी तुलाधर, वातावरण समितिमा राम श्रेष्ठ, पर्यटन तथा संस्कृति प्रवर्द्धन समितिमा राजु श्रेष्ठ, युथ चेम्बरको सभापतिमा दीपेश तुलाधर चयन भएका छन् । यसैगरी पूर्वाधार तथा भुमि सुधार समितिमा रोशन भोयधो, सामाजिक तथा स्वास्थ्य समितिमा मृगेन्द्रमेहर श्रेष्ठ, बैंक वित्तीय तथा बीमा समितिको सभापतिमा मनोहरदास मुल, ऊर्जा समितिको सभापतिमा नरेन्द्रवल्लभ पन्त, निर्यात प्रवर्द्धन समितिको सभापतिमा सञ्जयकुमार अग्रवाल चयन भएका छन् ।
चेम्बरले खेलकुद समितिको सभापतिमा रूपक राजवंशी, सूचना प्रविधि समितिमा विज्ञान श्रेष्ठलाई चयन गरेको जानकारी दिएको छ । चेम्बरको ७३औं वार्षिक साधारणसभापछि बनेको नयाँ कार्यसमितिले विषयगत समितिको सभापति चयन गरेको हो । यसअघि सल्लाहकार परिषद्को अध्यक्षमा पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ चयन भएका थिए ।