काठमाडौं । चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमाससम्म चिरख्वा हाइड्रोपावर लिमिटेड ८ लाख ७९ हजार रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ ।
सूचीकृत कम्पनीहरूले चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिरहँदा यस कम्पनीले भने दोस्रो त्रैमाससम्मको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको हो ।
पहिलो त्रैमाससम्म ५ लाख ५६ हजार रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीको दोस्रो त्रैमाससम्मा खुद नोक्सानी बढेको हो । कम्पनीको कुल खर्च बढेसँगै खुद नोक्सानीमा असर परेको हो । कर्मचारी खर्च पहिलो त्रैमाससम्ममा १ लाख ४८ हजार रुपैयाँभन्दा बढी भएकोमा दोस्रो त्रैमाससम्ममा ३ लाख ३१ हजार रुपैयाँभन्दा बढी भएको छ ।
त्यस्तै व्यवस्थापकीय खर्च पहिलो त्रैमाससम्म ४ लाख ७ हजार रुपैयाँभन्दा बढी भएकोमा दोस्रो त्रैमाससम्म ५ लाख ४८ हजार रुपैयाँभन्दा बढी भएको छ । दोस्रो त्रैमासम्ममा कम्पनीले निर्माण गरेको माथिल्लो चिरख्वा खोला जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएको जानकारी दिएको छ । यस अवधिसम्म योजनाले विद्युत् विक्री आम्दानी भने गरेको छैन ।
हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ । रिटेन अर्निङ भने यो त्रैमाससम्म ३९ लाख ८८ हजार रुपैयाँभन्दा बढी ऋणात्मक छ । दीर्घकालीन कर्जा ५४ करोड ७९ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा भने ६ करोड २८ लाख रुपैयाँभन्दा बढी छ ।
कम्पनीको कुल सम्पत्ति ३९ करोड ६० लाख रुपैयाँभन्दा बढी रहेकोमा कुल दायित्व ६८ करोड ९२ लाख रुपैयाँभन्दा बढी छ । दोस्रो त्रैमाससम्म कम्पनी २२ पैसा प्रतिशेयर नोक्सानीमा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ छ ।