नेपालको निजीक्षेत्रलाई अन्तरराष्ट्रिय बजारबाट वित्तीय स्रोत जुटाउन चुनौती रहेको अवस्थामा विभिन्न देशका वित्तसमूहले खडा गरेको विकास वित्त संस्था (डीएफआई) नेपालको निजीक्षेत्रमा कर्जा तथा स्वपूँजी लगानी गर्न अगाडि बढेको छ जुन वैदेशिक लगानीका लागि सकारात्मक सन्देश हो । डीएफआईले नेपालमा विगत ६ वर्षदेखि लगानी गर्दै आए पनि पछिल्लो ४ वर्षयता भने बैंक तथा वित्तीय क्षेत्रमा लगानी गरेको छ । आफ्नो लगानीले वातावरण र सामाजिक न्यायको क्षेत्रमा पनि प्रभाव पार्नुपर्ने भएकाले आफै मिलेर खडा गरेको इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) मार्फत उनीहरूले लगानीको क्षेत्र पहिचान गरेको पाइन्छ ।
डीएफआईले हालसम्म नेपालमा १ अर्ब १० करोड कर्जा र शेयरका रूपमा लगानी गरिसकेको छ । उसले गरेको लगानीमध्ये सबैभन्दा बढी अर्थात् कुल लगानीको ५६ दशमलव ४ प्रतिशत वित्तीय संस्थामा लगानी गरेको छ । त्यस्तै दोस्रो, जलविद्युत् क्षेत्रमा २६ दशमलव ४ प्रतिशत लगानी गरेको छ । विभिन्न कोषमा ८ दशमलव ७ प्रतिशत, ऊर्जाक्षेत्रमा ४ दशमलव ६ प्रतिशत र प्रविधि क्षेत्रमा १ दशमलव ९ प्रतिशत लगानी गरेको छ । पछिल्लो समय विश्वमा जलवायु तथा विविध संकटका कारण वातावरणमा दीर्घकालीन तथा सकारात्मक प्रभाव पार्ने लगानीमा जोड दिन थालिएको छ । यसैक्रममा डीएफआईहरूले पनि समाज तथा पृथ्वीमा दीर्घकालीन तथा सकारात्मक प्रभाव पार्ने लगानीमा जोड दिएका छन् । यसो त हाल लगानी गरिरहेका वाणिज्य बैंकहरूमा पनि महिला सशक्तीकरण, साना तथा मध्यम उद्यमहरू जस्ता क्षेत्रमा नै डीएफआईले आफ्नो लगानी लक्षित गरेको छ । उसले लगानीमा समाजको लागि सार्थकता खोज्ने अर्थात् इम्प्याक्ट पनि हेर्ने गरेको छ ।
डीएफआईमा दुई दर्जनभन्दा बढी देशका वित्तीय संस्थाहरू छन् । यिनले नेपालको निजीक्षेत्रलाई वित्तीय लगानी गर्ने र नाफा लैजाने गर्छन् । नेपालले विकासका लागि लगानीका विभिन्न स्रोत खोजिरहेको सन्दर्भमा डीएफआई नयाँ स्रोत बन्न सक्छ । समाजमा सकारात्मक असर पार्ने क्षेत्रमा कहाँकहाँ लगानी गर्न सकिन्छ भनेर उनीहरू हेरिरहेका छन् । नेपाललाई विकासका कार्यहरू अगाडि बढाउन पूँजीको अभाव रहेको छ । वैदेशिक लगानी आकर्षित गर्न नेपालले विभिन्न कार्यक्रम ल्याइरहेको छ । अहिले लगानी सम्मेलनको तयारी भइरहेको छ । नेपालमा लगानी गर्न विदेशी कम्पनीहरू डराइरहेको अवस्था छ । यस्तोमा केही वर्षयता लगानीका लागि नयाँ खाले समूह देखापरेको छ जुन सकारात्मक छ । यसले लगानी सम्मेलनमा आउने लगानीकर्ताका लागि पनि लगानी गर्न प्रोत्साहित गर्ने देखिन्छ ।
अहिले नेपाल भ्रमणमा यो समूहले सरकार, नियामक नेपाल राष्ट्र बैंक र अन्य सरोकारवालाहरूसँग छलफल गरिरहेको छ । यस्तो लगानीकर्तालाई सरकारले आवश्यक सहजीकरण गरिदिनुपर्छ । लगानीको उद्देश्य नाफा हुन्छ तर यो समूह भने नाफाका साथै दिगो विकासका आधारभूत पक्षप्रतिसमेत संवेदनशील रहेको देखिन्छ ।