काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ ११ गतेदेखि २० गतेसम्म लिलामी प्रक्रियाबाट विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ ।
कम्पनीले अवितरित १९ लाख ४६ हजार ६७६ कित्ता हकप्रद शेयर विक्री खुला गरेकोमा सर्वसाधारणतर्फको 'लक-इन'मा रहेको ९३ हजार ६२९ कित्ता शेयर भने विक्री हुन सकेन । यी बाहेक बाँकी शेयर भने तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूमा जेठ २८ गते बाँडफाँट गरिएको हो ।
कम्पनीले शतप्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण नभएको संस्थापकतर्फको १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण तर्फको 'लक-इन'मा रहेको १ लाख ६५ हजार ९५६ र 'लक-इन'मा नरहेको ४ लाख ९५ हजार ६७९ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको हो ।
कम्पनीको सर्वसाधारणतर्फको 'लक-इन'मा रहेकाे शेयर पनि आगामी असार ७ गतेपछि फुकुवा हुनेछ । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य तोकिएको यी शेयर बाँडफाँटको अन्तिम मूल्य संस्थापक तर्फको प्रतिकित्ता २६५ रुपैयाँ र सर्वसाधारण तर्फको प्रतिकित्ता २७० रुपैयाँ कायम भएको छ ।
बाँडफाँटमा नपरेको शेयर बापतको रकम कम्पनीले जेठ ३० गतेदेखि रकमान्तर गर्ने जानकारी दिएको छ । हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको आधारमा सोहीबराबरको हकप्रद शेयर निष्कासन गरेको हो । विक्री नभएको बाँकी शेयर समेत बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ कायम हुनेछ ।