काठमाडौं दुग्ध किसानले दूध बेचेबापत उद्योगीबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानीको समयसीमा बिहीवार सकिँदै छ । २०८० चैतसम्मको बक्यौता असार २७ गतेसम्म भुक्तानी गर्नेगरी गत असार १६ मा सरकार, किसान र उद्योगीबीच सहमति भएको थियो । तर, भुक्तानीका लागि तोकिएको समयसीमा सकिनै लाग्दा पनि उद्योगीले किसानलाई भुक्तानी दिएका छैनन् ।
सरकार र उद्योगीले पटकपटक किसानसँग सहमति गर्ने तर त्यसको कार्यान्वयन नगरी किसानलाई धोका दिने प्रवृत्ति पुरानै भएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए । उनका अनुसार हालसम्म चितवनका कुनै पनि किसानले भुक्तानी पाएका छैनन् । चितवनका किसानले विभिन्न डेरी उद्योगीसँग ७२ करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ ।
‘कृषि मन्त्रालयलाई नै साक्षी राखेर गरेको सहमति कार्यान्वयन नहुनु कृषि प्रधान देशका किसानका लागि ठूलो विडम्बना हो । ‘सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले किसानलाई भुक्तानी दिएको खण्डमा निजी डेरीलाई पनि दबाब पर्ने थियो डीडीसीले नै दिएको छैन । निजीले दिने त कुरै भएन,’ उनले भने ।
यसअघि तीनओटै पक्षबीच किसानलाई भुक्तानी दिन भन्दै गत वर्षको मङ्सिर २६ र फागुन १९ मा समेत सहमति भएको थियो । उक्त सहमति कार्यान्वयन नभएपछि तेस्रो पटक पुन: सहमति भएको थियो । किसानले भुक्तानी माग गर्दै केही दिनअघि काठमाडौंमा सडक आन्दोलनसमेत गरेका थिए । आन्दोलनका क्रममा सरकारले किसानमाथि धरकपकडसमेत गरेको थियो । पछिल्लो सहमतिमा डेरी उद्योगीहरूले २०८० चैतसम्म किसानलाई तिर्न बाँकी रकम यही असार २७ गतेभित्र तिरिसक्नुपर्ने समयसीमा तोकिएको छ ।
वैशाख र जेठको बक्यौता भुक्तानी पनि आगामी भदौभित्रै गरिसक्नु पर्नेछ । साथै अबदेखि दुग्ध उद्योगीले किसानसँग दूध खरीद गरेबापत हरेक महीना दुई किस्तामा रकम भुक्तानी गर्नुपर्ने सहमति भएको छ । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष थानेश्वर सापकोटाले २०८० चैतसम्मको बक्यौता असार २७ सम्म भुक्तानी गरिसक्ने सहमति भए पनि अहिलेसम्म किसानले भुक्तानी नपाएको बताए । यसपटक पनि किसानले धोका पाएको उनको गुनासो छ ।
दुग्ध विकास संस्थान (डीडीसी) र निजी डेरी उद्योगसँग किसानले करीब ४ अर्ब रुपैयाँ उठाउन बाँकी छ । त्यसमध्ये डीडीसीले मात्रै करीब २ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । निजीक्षेत्रका डेरीहरूमध्ये सुजल डेरी, राजधानी डेरी, गायत्री डेरी र तुलसा डेरीलगायतले किसानलाई सबैभन्दा धेरै रकम भुक्तानी गर्न बाँकी रहेको किसानहरूले बताउँदै आएका छन् । यी डेरीले किसानको भुक्तानी पनि नदिएको र भुक्तानी माग्दा मिल्क होलिडेको धम्की दिएको नाम उल्लेख नगर्ने शर्तमा एक किसानले बताए । राजधानी डेरीका अध्यक्ष राजकुमार दाहालले भने मिल्क होलिडेको बारेमा कुनै पनि किसानसँग कुरा नगरेको दाबी गरे । राजधानी डेरीले किसानलाई भुक्तानी गर्नुपर्ने करीब ३/४ करोड रुपैयाँमध्ये लगभग ४०/५० लाख रुपैयाँ मात्रै भुक्तानी गर्न बाँकी रहेको उनले दाबी गरे । ‘हामीले धेरैजसोलाई भुक्तानी गरिसक्यौं । अब २/३ महीनाको मात्रै बाँकी छ । जुन किसानसँग हामीले दूध लिने गरेका छैनौं तिनै किसानले हाम्रो बारेमा जथाभावी भन्ने गरेका छन् । हामीले भुक्तानी गर्नुपर्ने किसानको रकम तिरिरहेका छौं,’ उनले भने ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले किसानको भुक्तानीका लागि मन्त्रालयमार्फत डीडीसीलाई ऋण दिने प्रक्रिया भइरहेकाले तोकिएको समयसीमाभित्रै भुक्तानी दिन नसकिए पनि यथाशीघ्र चाँडै भुक्तानी हुने कुरामा विश्वस्त रहन आग्रह गरे । ‘डीडीसीले ६० करोड रुपैयाँ ऋण उपलब्ध गराइदिन कृषि मन्त्रालयलाई अनुरोध गरेको थियो । हामीले उक्त प्रस्ताव अर्थ मन्त्रालयमा पेश गरेका थियौं, आज २७ गतेसम्म केही टुंगो लाग्छ भन्ने आशा छ,’ उनले भने ।