काठमाडौं । एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा सञ्चालन भएको छ ।
यसअघि वीरगंज महानगरपालिका–१० आदर्शनगरमा सञ्चालन भएको बैंकको शाखा कार्यालय र मधेश प्रदेशको प्रादेशिक कार्यालय आइतवारबाट महानगरपालिकाकै वडा नम्बर ४ आदर्शनगरस्थित नवनिर्मित भवनमा स्थानान्तरण भएको हो । उक्त भवनबाट सम्पूर्ण बैंकिङ्ग तथा सेवा सुचारु गरिएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उक्त स्थानान्तरण तथा शुभारम्भ कार्यक्रममा वीरगंज चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष हरि गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यलगायतको उपस्थिति थियो ।
कार्यक्रममा बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक पुष्पराज उपे्रतीले उक्त नवनिर्मित आफ्नै भवनबाट ग्राहकले अझ बृहत् र परिष्कृत बैंकिङ्ग सेवा तथा सुविधा सरल, सुलभ र सहजरूपमा उपभोग गर्न सक्ने बताए ।
पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंकमा हालसम्म करीब १४ लाख ग्राहक छन् । बैंकले देशभरका १२८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालय, १६४ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।