काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष सोही अवधिमा ५० प्रतिशतभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणलाई हेर्दा खुद नाफामा उल्लेखित परिवर्तन आएको देखिएको हो ।
गत वर्ष यस अवधिसम्म ७ करोड १४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष १० करोड ७२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको सञ्चालन नाफा समेत ४७ दशमलव ४२ प्रतिशत बृद्धि भएको छ । इम्पेरमेन्ट चार्ज करिब १३ प्रतिशत बढेपनि कर्मचारी खर्च कम हुँदा कम्पनीले यस वर्ष १५ करोड ३२ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गर्न सफल भएको हो ।
इम्पेरमेन्ट चार्ज गत वर्ष ११ करोड ५२ लाख रूपैयाँभन्दा बढी रहेकोमा यस वर्ष १२ करोड ९८ लाख रूपैयाँभन्दा बढी रहेको हो । कर्मचारी खर्च भने गत वर्ष १९ करोड ३५ लाख रूपैयाँभन्दा बढी भएकोमा यस वर्ष १९ करोड १३ लाख रूपैयाँभन्दा बढी भएको हो ।
यो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा पनि गत वर्षको तुलनामा बढेको छ । गत वर्ष यस अवधिसम्म ३ करोड ६६ लाख रूपैयाँभन्दा बढी रहेको वितरणयोग्य नाफा यस वर्ष ४ करोड १८ लाख रूपैयाँभन्दा बढी रहेको हो । हाल कम्पनीको चुक्तापूँजी ६१ करोड ८९ लाख रूपैयाँ रहेको छ भने रिटर्न अर्निग र जगेडा कोष गरी ४९ करोड ९३ लाख रूपैयाँभन्दा बढी कायम छ । यस वर्ष कम्पनीले गत वर्षभन्दा करिब ५ प्रतिशत कम निक्षेप संकलन गरेको छ भने १० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
यस वर्ष २ अर्ब ९६ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ८ अर्ब ४ करोड १४ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो । निष्क्रिय कर्जा यस वर्ष घटेको छ । गत वर्ष ४ दशमलव ८४ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव ११ प्रतिशतमा झरेको हो । वार्षिक प्रतिशेयर आम्दानी २३ रूपैयाँ १० पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १८० रूपैयाा ६९ पैसा रहेको छ । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा सञ्चालित यस कम्पनीको कुल शेयरमध्ये ५७ दशमलव ४८ प्रतिशत शेयर स्वामित्व ग्लोबल आइएमई बैंकको रहेको छ ।