काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपालको राजकीय भ्रमणमा रहनुभएका मित्रराष्ट्र कतारका अभिर (राजा) शेख तामिम बिल हमाद अल थानीसंग इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको सकुसल रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ ।
“आफ्नो शैक्षिक इन्टर्नशीपको लागि इजरायलमा रहेका निर्दोष नेपाली विद्यार्थी विपिन जोशी अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपश्चात् बेपत्ता छन् र उनको अवस्था हालसम्म पनि थाहा हुन सकेको छैन,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “म उनको शीघ्र तथा सुरक्षित रिहाइको सहजीकरणका लागि कतार सरकार समक्ष पुनः अनुरोध गर्न चाहन्छु ।”
प्रधानमन्त्री प्रचण्डले थप भन्नुभयो, “यस विषयमा महामहिमको व्यक्तिगत ध्यानाकर्षणका लागि अनुरोध गर्दछु ।”
पश्चिम एसियामा बिग्रिँदै गएको परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै उहाँले जतिसक्दो चाडो युद्ध अन्त्य भएर शान्ति पुनःस्थापना होस् भन्ने कामना गर्नुभयो ।