इरानले इजरायलमाथिको २०औँ आक्रमणको क्रममा खेबर शेकेन मिसाइल प्रक्षेपण गर्दै क्षेत्रीय सैन्य रणनीतिमा एक नयाँ चरणको शुरुवात गरेको छ । अत्याधुनिक सुरक्षा प्रणाली छल्न डिजाइन गरिएको यो ठोस इन्धनयुक्त ब्यालिस्टिक मिसाइलले तेहरानको झन् आक्रामक मानसिकता प्रकट गर्छ । बेन गुरियन विमानस्थल र सैन्य संरचनामाथिको आक्रमणमा यसको प्रयोगले दर्जनौंलाई घाइते बनायो र हवाई सेवा अवरुद्ध गर्यो । यो आक्रमणले इरानको लामो दूरी क्षमताप्रति बढ्दो आत्मविश्वास र क्षेत्रीय अस्थिरता, आर्थिक झट्का तथा विश्व ऊर्जा सुरक्षाप्रति चिन्ता पैदा गर्यो ।
२२ जुनमा इरानले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा जटिल हवाई आक्रमण गर्दै बेन गुरियन विमानस्थल र विभिन्न सैन्य कमाण्ड केन्द्रहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोनहरू प्रहार गर्यो । तर, केन्द्रमा केवल लक्ष्यहरू मात्र थिएनन् । पहिलोपटक इरानले आफ्नै देशमै बनाएको सबैभन्दा उन्नत ब्यालिस्टिक मिसाइल ‘खेबर शेकेन’ प्रयोग गर्यो । तेहरानबाट सन्देश स्पष्ट थियो : अब युद्ध बढ्न सक्छ ।
आईआरजीसीको पुष्टि र चेतावनी
इस्लामिक क्रान्तिकारी गार्ड (आईआरजीसी) ले यो आक्रमण ‘इजरायली आक्रमणको रणनीतिक जवाफ’ भएको बताउँदै खेबर शेकेन मिसाइल प्रयोग गरिएको पुष्टि गर्यो । यो आक्रमण अमेरिका र इजरायलद्वारा इरानी आणविक केन्द्रहरूमा गरिएको हवाई आक्रमणपछि भएको थियो । राज्यनियन्त्रित समाचार संस्था आईआरएनएले प्रकाशित गरेको एक बयानमा आईआरजीसीले भन्यो, ‘यो अपरेशनमा अझै सबै सैन्य क्षमता प्रयोग गरिएको छैन ।’ यसको अर्थ भविष्यमा अझ खतरनाक प्रणाली प्रयोग हुनसक्छ भन्ने संकेत थियो ।
प्रविधि र सीमा
आईआरएनएका अनुसार खेबर शेकेन मिसाइल इरानको खोर्रमशहर मिसाइल परिवारको चौथो पुस्ता हो । यसको दूरी १,४५० किलोमिटर छ र यो ठोस इन्धनमा आधारित छ, जसले यसलाई छिटो प्रक्षेपणका लागि सक्षम बनाउँछ । यो १५ मिनेटभन्दा कममा प्रक्षेपण तयार गर्न सकिने दाबी गरिएको छ । यसको तौल करिब १,५०० केजी छ र लम्बाइ करिब चार मीटर । वायुमण्डलबाहिर यसको गति १९,५०० किमी/घण्टा भन्दा बढी र वायुमण्डलभित्र ९,८०० किमी/घण्टा पुग्छ, जसले गर्दा इजरायली प्रणालीहरू ‘आइरन डोम’, ‘डेभिड स्लिङ’ र अमेरिकी ‘प्याट्रियट’ ले समेत यसलाई रोक्न कठिन हुन्छ ।
मार्गनिर्देशन, सटीकता र गति
अघिल्ला मिसाइलहरूभन्दा फरक खेबर शेकेनले स्याटेलाइटमार्फत नेभिगेसन गर्दछ र नयाँ मार्गनिर्देशन प्रणाली प्रयोग गर्छ । यसमा रि–एन्ट्री भेहिकल प्रविधि छ जसले वायुमण्डलमा पुनःप्रवेश गर्दा मिसाइलले दिशा परिवर्तन गर्न सक्छ । यसले मिसाइललाई तीव्र मात्र होइन, ट्र्याक गर्न पनि गाह्रो बनाउँछ । सैन्य स्रोतका अनुसार मिसाइल तीन चरणमा यात्रा गर्छः शुरुवाती प्रक्षेपण, थ्रस्टरद्वारा मार्गनिर्देशन र पुनःप्रवेश, जहाँ अनबोर्ड इन्जिनहरूले अन्तिम दिशामा समायोजन गर्छन् ।
गोप्य डिजाइन
‘अरुन्ड’ नामक इन्जिन इन्धन ट्याङ्कीभित्र राखिएको छ, जसले मिसाइललाई छोटो बनाउँछ र राडारबाट पत्ता लगाउन गाह्रो बनाउँछ । यो मोबाइल प्लेटफर्मबाट प्रक्षेपण गर्न सकिन्छ र विभिन्न स्थानहरूबाट सजिलै चलाउन सकिन्छ जसले इजरायललाई अन्यौलमा पार्छ ।
धेरै वर्ष लगाएर गरिएको विकास
यो मिसाइल शृंखला सन् २०१७ मा खोर्रमशहर–१ बाट शुरू भयो । २०१९ मा खोर्रमशहर–२ अनि २०२३ मा खोर्रमशहर–४ सार्वजनिक गरियो । इरानले खोर्रमशहर–३ को अस्तित्व स्वीकारे पनि आधिकारिक रूपमा सार्वजनिक गरेको छैन । सैन्य अधिकारीहरूले यसमा ‘अत्याधुनिक क्षमता रहेको’ तर गोप्य राखिएको बताएका छन् ।
खेबर शेकेन नामको ऐतिहासिक सन्दर्भ पनि महत्त्वपूर्ण छ । खेबर भनेको ७औं शताब्दीको खेबर युद्ध हो जहाँ इमाम अलीले निर्णायक भूमिका खेलेका थिए । यो नाम केवल प्रतीक होइन, इरानले इजरायलसँगको संघर्षलाई ऐतिहासिक–धार्मिक रूपले चित्रण गर्ने माध्यम हो । यो मिसाइल यसअघि २०२४ को अप्रिलमा र अक्टोबरमा प्रयोग भएको पश्चिमी मिडियाले उल्लेख गरेका छन् ।
आक्रमणको असर
इरानी दाबीअनुसार पछिल्लो आक्रमणले इजरायलको हवाई यातायातमा अवरोध ल्यायो, विभिन्न सैन्य र अनुसन्धान केन्द्रहरूमा क्षति पुर्यायो र हैफा तथा तेलअविभजस्ता शहरहरू अस्तव्यस्त बनायो । तेलअविभको रमात गान क्षेत्रमा नौवटा भवन ध्वस्त भएका रिपोर्ट छन् भने हैफामा विस्फोटहरू भएका थिए । आपत्कालीन सेवाले २३ जनालाई घाइते भनी पुष्टि गर्यो जसमा तीनको अवस्था गम्भीर थियो । एक किशोरी पनि घाइते थिइन् । कार्मिएलमा आक्रमणको बेला हृदयाघात भएर एक महिलाको मृत्यु भएको बताइएको छ ।
इजरायली सुरक्षास्रोतहरूले स्थानीय मिडियालाई बताएअनुसार ३० मध्ये १८ वटा इरानी ब्यालिस्टिक मिसाइलहरू सफलतापूर्वक लक्ष्यमा पुगे । यो वर्षकै सबैभन्दा उच्च सफलताको दर हो ।
हवाई क्षेत्र बन्द, विद्यालय बन्द, जनता स्तब्ध
बेन गुरियन विमानस्थलमा उडानहरू स्थगित गरियो । विद्यालयहरू बन्द गरिए । सार्वजनिक जमघटमा रोक लगाइयो । राजधानीसहित ठूला शहरहरूमा जनता बंकरमा जान बाध्य भए । इजरायली अधिकारीहरूले भनेका छन् कि सैन्य आधारहरूमा ठूलो क्षति नभए पनि मनोवैज्ञानिक र कार्यगत प्रभाव स्पष्ट छ ।
क्षेत्रीय चेतावनी
यो आक्रमण केवल इजरायलमाथि मात्र थिएन । यो समग्र क्षेत्रलाई लक्षित सन्देश थियो । इरानले लामो समयदेखि हिजबुल्लाह (लेबनान), हुथी (यमन) र इराकमा आफ्ना सहयोगी समूहहरू प्रयोग गर्दै आएको छ । विश्लेषकहरूका अनुसार यी समूहहरूले चाँडै अमेरिकालगायत मित्र राष्ट्रहरूलाई दबाब दिन सक्नेछन् ।
होरमुज जलडमरूमध्य बन्द गरिए तेलको मूल्य आकस्मिक रूपमा बढ्नेछ । लाल सागर र फारस खाडीमार्ग असुरक्षित हुनेछन् । यसले विश्वव्यापी ढुवानी लागत, ढिलाइ, र आपूर्ति संकट निम्त्याउनेछ । क्षेत्रीय अस्थिरताले पूँजी पलायन गराउनेछ, जसले पहिले नै कमजोर अर्थतन्त्रलाई थप संकटमा पार्नेछ ।
खेबर शेकेन केवल एउटा मिसाइल होइन यो एउटा रणनीतिक चिनारी हो । गति, गोप्यता र सटीकताका लागि निर्मित र धार्मिक–ऐतिहासिक भावनाले सिँगारिएको यो मिसाइल इरानको मिसाइल प्रविधिमा ठूलो फड्को हो । यसको प्रक्षेपणले इरानले जोखिमपूर्ण, दीर्घकालीन संघर्षका लागि अब पूर्ण रूपमा तयार रहेको संकेत दिएको छ ।
(इकोनोमिक टाइम्सबाट)