चीनका वैज्ञानिकहरूले स्वच्छ ऊर्जा उत्पादनको क्षेत्रमा एक ठूलो उपलब्धि प्राप्त गरेका छन् । इन्टरेस्टिङ इन्जिनीयरिङका अनुसार चिनियाँ विज्ञान प्रतिष्ठानका वैज्ञानिकहरूले विश्वकै पहिलो थोरियम मोल्टन साल्ट रिएक्टर निर्माण गरेका छन् । यो सफलता त्यसबेला आएको हो जब तिनीहरूले उक्त रिएक्टरमा नयाँ इन्धन हाल्न सफल भए ।
- चीनले अमेरिकी गोप्य दस्तावेज प्रयोग गरेर थोरियममा ऐतिहासिक उपलब्धि प्राप्त गर्यो । थोरियम प्रयोग गर्दा उत्पादन हुने फोहोर कम रेडियोधर्मी हुन्छ, छोटो समयमै निष्क्रिय हुन्छ र हतियार बनाउन गाह्रो हुन्छ ।
अहिलेसम्म परमाणु ऊर्जाका लागि युरेनियम प्रयोग हुँदै आएको छ । युरेनियम प्रयोग गर्दा लामो समयसम्म उच्च विकिरण उत्सर्जन गर्ने खतरनाक फोहोर तयार हुन्छ, जुन संसारका सबैभन्दा घातक हतियार बनाउनसमेत प्रयोग गर्न सकिन्छ । यसबाहेक, यदि कुनै युरेनियम परमाणु केन्द्रमा केही समस्या भयो भने परिणाम विनाशकारी हुन सक्छ । तर, थोरियम प्रयोग गर्दा उत्पादन हुने फोहोर कम रेडियोधर्मी हुन्छ, छोटो समयमै निष्क्रिय हुन्छ र हतियार बनाउन गाह्रो हुन्छ । मोल्टन साल्ट रिएक्टरहरू अझ सुरक्षित मानिन्छन् किनभने मोल्टन साल्टले इन्धनलाई चिस्याउने काम गर्छ । साथै, थोरियम अत्यन्तै प्रशस्त मात्रामा पाइन्छ ।
दुई मेगावाट क्षमताको यो रिएक्टरको निर्माण कार्य सन् २०१८ मा गोबी मरुभूमिमा शुरू गरिएको थियो । तर, अनुसन्धान दशौं वर्षअघि अमेरिकामा शुरू भएको थियो । सन् १९६० को दशकमा अमेरिकी वैज्ञानिकहरूले यसको निर्माण र परीक्षण गरेका थिए तर पछि यूरेनियममा ध्यान केन्द्रित गरे । ती अनुसन्धान सार्वजनिक भएका थिए र चीनका वैज्ञानिकहरूले त्यसपछि उक्त जिम्मेवारी लिए । यस परियोजनाका प्रमुख वैज्ञानिक शू होङजिएले आफ्नो टोलीसँग मिलेर अमेरिकी अनुसन्धानहरू अध्ययन गरे र ती पुराना प्रयोगहरू पुनः सृजना गरे । त्यसपछि उक्त प्रविधिलाई अझ परिष्कृत गरे । शूले भने, ‘हामीले सबै दस्तावेजमा वर्णित प्रविधिहरूमा विशिष्ट ज्ञान प्राप्त गर्यौं र त्यसपछि अझ अगाडि बढ्यौं ।’
थोरियम प्रयोग गर्ने फिजन प्रविधि कोइला र प्राकृतिक ग्यासजस्ता स्रोतहरूभन्दा सस्तोमा ऊर्जाको उत्पादन गर्न सक्ने विधि हो, जसको लाभ उपभोक्तासम्म पुग्ने सम्भावना छ । साथै, यसले प्रदूषण वा वातावरणलाई तताउने ग्यासहरू उत्सर्जन गर्दैन ।
चीन हाल १० मेगावाट क्षमताको अझ ठूलो थोरियम रिएक्टर बनाउने प्रक्रियामा छ, जुन सन् २०३० सम्म सञ्चालनमा ल्याउने लक्ष्य छ । त्यो मात्र होइन, चीनले थोरियमबाट चल्ने कन्टेनर जहाजहरू बनाउने योजना पनि सार्वजनिक गरेको छ । यसले चीनको कार्बन प्रदूषण उल्लेख्य रूपमा घटाउनेछ । चीनका घरेलु तथा अन्तरराष्ट्रिय कन्टेनर जहाजहरूले वार्षिक करीब ८० मिलियन टन कार्बन प्रदूषण उत्सर्जन गर्छन् ।
यी केवल केही उदाहरण हुन् जसले चीन आफ्नो स्वच्छ ऊर्जा पूर्वाधारलाई कसरी विविधीकरण गर्दै छ भन्ने देखाउँछन् । हाल चीन स्वच्छ ऊर्जा विकासको क्षेत्रमा विश्वमै अग्रणी राष्ट्र हो । चीनले हालै विश्वकै ठूलो फ्लोटिङ (पानीमा तैरिने) पवन टर्बाइन सार्वजनिक गरिसकेको छ र अझ ठूलो बनाउने योजना बनाएको छ । साथै, चीनसँग विश्वकै दुई सबैभन्दा ठूलो सौर्य फार्म छन् र तेस्रो झनै ठूलो सौर्य फार्म निर्माणाधीन अवस्थामा छ ।
(द कुलडाउन डटकमबाट)