काठमाडौं । धितोपत्र कारोबारमा लाग्ने ब्रोकर कमिशन १० प्रतिशत घटाएर जेठ १ गतेदेखि लागू हुने भएको छ । नेपाल धितोपत्र बोर्डको वैशाख २३ गते बसेको सञ्चालक समिति बैठकले जेठ १ गतेदेखि हालको ब्रोकर कमिशन १० प्रतिशत घटाएर लागू गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले जानकारी दिए ।
बोर्डको नयाँ निर्णयअनुसार ब्रोकर कमिशन अधिकतम शून्य दशमलव ४० प्रतिशतको माथिल्लो सीमा घटेर शून्य दशमलव ३६ प्रतिशत र शून्य दशमलव २७ प्रतिशतको तल्लो सीमा घटेर शून्य दशमलव २४ प्रतिशत कायम भएको छ ।
जेठ १ गतेदेखि लागू हुने ब्रोकर कमिशनअनुुसार ५० हजार रुपैयाँसम्मको कारोबारमा लगानीकर्ताले शून्य दशमलव ३६ प्रतिशत, ५० हजारमाथि ५ लाख रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३३ प्रतिशत, ५ लाखमाथि २० लाख रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत तिर्नुपर्नेछ । त्यस्तै २० लाखमाथि १ करोड रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव २७ प्रतिशत र १ करोड रुपैयाँमाथिको कारोबारमा शून्य दशमलव २४ प्रतिशत कमिशन लाग्नेछ ।
अचेल ५० हजार रुपैयाँसम्मको कारोबारमा लगानीकर्ताले शून्य दशमलव ४० प्रतिशत, ५० हजारमाथि ५ लाख रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३७ प्रतिशत, ५ लाखमाथि २० लाख रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३४ प्रतिशत कमिशन तिर्नुपर्ने व्यवस्था छ । त्यस्तै २० लाखमाथि १ करोड रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत र १ करोड रुपैयाँमाथिको कारोबारमा शून्य दशमलव २७ प्रतिशत कमिशन लाग्ने व्यवस्था छ ।
बोर्डले गतवर्ष कात्तिक १ गते ब्रोकर कमिशन १० प्रतिशत घटाउने प्रस्ताव गर्दै अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पेश गरेको थियो । गत वैशाख १२ गतेको अर्थमन्त्रीस्तरीय बैठकले बोर्डले प्रस्ताव गरेबमोजिमकै ब्रोकर कमिशन लागू गर्न स्वीकृति दिएको थियो । लामो समयको अध्ययन, अनुसन्धानपछि बोर्डले ब्रोकर कमिशन घटाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ । बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालले ‘लगानीकर्ता रहे मात्र धितोपत्र बजारको औचित्य रहने’ भन्दै लगानीकर्ताको मागबमोजिम ब्रोकर कमिशन घटाउने निर्णय गरेका थिए । तीन वर्षपछि ब्रोकर कमिशन घटेको हो ।
यसअघि २०७७ पुस १२ गतेदेखि लागू हुने गरी बोर्डले ब्रोकर कमिशन घटाएर माथिल्लो सीमा शून्य दशमलव ४० प्रतिशत र तल्लो सीमा शून्य दशमलव २७ प्रतिशत कायम गरेको थियो ।
लगानीकर्ता छोटेलाल रौनियार पछिल्लो समय धितोपत्र बजारका आम लगानीकर्ताको मनोबल नबढिरहेको अवस्थामा ब्रोकर कमिशन घटाउने बोर्डको निर्णयले केही उत्साह थपिने अपेक्षा गरेको बताउँछन् । धितोपत्र बजारमा करोडौं रुपैयाँ पूँजी कायम गर्दै नयाँ ब्रोकर थपिएको अवस्थामा तत्काललाई १० प्रतिशत कम ब्रोकर कमिशनले लगानीकर्तालाई राहत मिल्ने रौनियारले बताए । बजारका लागि सञ्जीवनी बुटीकै काम नगरे पनि लगानीकर्तालाई केही राहत हुने गरी ब्रोकर कमिशन घटेको अवस्थामा आगामी दिनमा यसले सकारात्मक प्रभाव पार्ने रौनियारको अपेक्षा छ ।
बजार सुधारका लागि नियामक निकायले लागू गरेको ब्रोकर कमिशनलाई ब्रोकरले समेत सकारात्मक रूपमा लिएका छन् । कुनै पनि नीति लागू हुनुभन्दा त्यसले पार्ने प्रभाव महत्त्वपूर्ण हुने सन सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष कृष्ण गिरीको भनाइ छ । । ब्रोकर कम्पनीहरूको आम्दानी बढाउन २० करोड चुक्ता पूँजी भएका ब्रोकर कम्पनीहरूलाई मार्जिन कारोबार र पोर्टफोलियो म्यानेजमेन्टको सुविधा प्रदान गर्न दिने गरी नीति परिवर्तन गर्नुपर्ने मागसमेत उनले गरेका छन् ।