काठमाडौं । धितोपत्र कारोबारमा लाग्ने ब्रोकर कमिसन १० प्रतिशत घट्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ १ गतेदेखि हालको ब्रोकर कमिसनमा १० प्रतिशत घटाएर लागू गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले जानकारी दिए । धितोपत्र बजारलाई सकारात्मक प्रभाव पार्ने अभिप्रायका साथ बोर्डले कमिसन घटाएर लागू गर्ने निर्णय गरेको भनाइ श्रेष्ठको छ ।
बोर्डले कात्तिक १ गते ब्रोकर कमिसन १० प्रतिशत घटाउने प्रस्ताव गर्दै अर्थमन्त्रालयमा स्वीकृतिका लागि पेस गरेको थियो । वैशाख १२ गते मन्त्रीस्तरीय बैठकबाट निर्णय गराएर अर्थमन्त्री वर्षमान पुनले बोर्डले प्रस्ताव गरेबमोजिमकै ब्रोकर कमिसन लागू गरी कार्यान्वयनका लागि स्वीकृति प्रदान गरेका थिए ।
लामो समयको अध्ययन अनुसन्धानपछि बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेको थियो । बोर्डका तत्कालिन अध्यक्ष रमेश कुमार हमालले लगानीकर्ता रहे मात्र धितोपत्र बजारको औचित्य रहने भन्दै लगानीकर्ताको मागबमोजिम ब्रोकर कमिसन घटाउने निर्णय गरेका थिए ।
बोर्डले धितोपत्र कारोबारमा कायम अधिकतम शून्य दशमलव ४० प्रतिशतको माथिल्लो सीमालाई घटाएर शून्य दशमलव ३६ प्रतिशत र शून्य दशमलव २७ प्रतिशतको तल्लो सीमालाई घटाएर शून्य दशमलव २४ प्रतिशत कायम गरी लागू गर्ने निर्णय गरेको हो ।
यसअघि बोर्डले ०७७ पुस १० गते ब्रोकर कमिसन घटाएर माथिल्लो सीमा शून्य दशमलव ४० प्रतिशत र तल्लो सीमा शून्य दशमलव २७ प्रतिशत कायम गरेको थियो ।
हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा लगानीकर्ताले शून्य दशमलव ४० प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३७ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३४ प्रतिशत कमिसन तिर्नुपर्ने व्यवस्था छ । त्यस्तै, २० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत र १ करोड रुपैयाँभन्दामाथिको कारोबारमा शून्य दशमलव २७ प्रतिशतसम्म कमिसन लाग्ने व्यवस्था छ ।
नयाँ निर्णयअनुसार लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३६ प्रतिशत, ५० हजार रुपैयाँदेखि ५ लाख रूपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३३ प्रतिशत, ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत कमिसन तिर्नुपर्नेछ । त्यस्तै, २० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको कारोवारमा शून्य दशमलव २७ प्रतिशत र १ करोड रुपैयाँभन्दामाथिको कारोबारमा शून्य दशमलव २४ प्रतिशतसम्म कमिसन लाग्नेछ ।