काठमाडौं । बुधवार नेप्से परिसूचक झिनो अंक वढेर बन्द भएको छ । परिसूचक शून्य दशमलव १५ अंक बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा कायम भएको छ । समग्रमा हेर्दा बजारले लामो समयदेखि गति लिन सकेको छैन । २ हजार विन्दुबाट तल आएपछि नेप्से पुनः सुस्त भएको छ । बुधवारको बजार प्रवृत्ति हेर्दा समग्रमा नेप्से साइडवेजमा देखिएको छ ।
सूचीकृत कम्पनीहरुको शेयर मूल्य निकै सस्तिएका छन् भने कतिपय कम्पनीको शेयर मूल्य नेटवर्थ मूल्य भन्दा तल आएको छ । यस्तो अवस्थामा पनि लगानीकर्ताहरु सक्रिय हुन सकेका छैनन् । बजार प्रति लगानीकर्ताको मनोविज्ञान कमजोर भएको देखिन्छ । तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार अधिकांश बैंक तथा वित्तीय संस्थाको नाफा घटेको छ भने खराब कर्जा बढेको छ । यस कारण पनि बजार प्रभावित भएको देखियो ।
लामो समय देखि घटेको बजारमा कम्पनीहरुको शेयर मूल्य निकै तल्लो विन्दुमा झरेको छ भने ब्याजदर पनि घटिरहेको छ । यस्तो अवस्थामा पनि लगानीकर्ता सक्रिय हुन सकेका छैनन । अव नियामक निकायले शेयर बजार सुधारका लागि नितिगत रुपमा सुधार गर्नु पर्ने जानकारहरु बताउँछन् ।
बुधवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १० प्रतिशत वृद्धि भएको छ भने फ्लोट इन्डेक्स स्थिर रहेको छ । ३१३ धितोपत्रको ७२ लाख ८४ हजार २७२ कित्ता शेयर ३६ हजार ४८३ पटकमा रू. २ अर्ब ५३ करोड बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका धितोपत्रमधये पोखरा फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. ५६५ दशमलव ४० पुगेको छ । त्यस्तै दोस्रोमा गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ९२ प्रतिशत बढेर रू. १ हजार ९४० पुगेको हो ।
बुधवार सबैभन्दा माई खोला हाइड्रोपावर कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ७ दशमलव ८४ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन । शेयर मूल्य प्रतिकित्ता रू. ४७० कायम भएको छ । त्यस्तै दोस्रोमा नबिल डिबेञ्चर २०८५ नामक ऋणपत्रको मूल्य ३ दशमलव ९६ प्रतिशत घटेर रू. ९५५ दशमलव ६० मा झरेको छ ।
सर्वाधिक शेयर खरीदविक्री नेपाल पुर्नबीमा कम्पनीको संस्थापकको शेयरको भएको छ । यस कम्पनीको रू. ६३ करोड ३० लाख बराबरको संस्थापक शेयर कारोबार भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. २८१ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा पोखरा फाइनान्सको रू. १४ करोड ८० लाख बराबरको भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये तीन समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको हो । सबैभन्दा बढी वित्त समूहको सूचक २ दशमलव ४४ प्रतिशत वृद्धि भएको छ ।