मनोजकुमार लालकर्ण
एलाइन्स इन्स्योरेन्स कं लि
जीवन अमूल्य छ । हाम्रो जीवन छ र त हामीमाथि निर्भर परिवारका सबै सदस्य खुशीसाथ जीवनयापन गरिरहेका छन् । तर, एकछिन् कल्पना गरौँ, यदि कमाउने व्यक्तिको असामयिक मृत्यु भयो भने ऊमाथि आश्रित बुबाआमा श्रीमती, छोराछोरी वा परिवारका अन्य सदस्यको भविष्य कस्तो होला ? के छोराछोरीको शिक्षादीक्षा वा पालनपोषण राम्रोसँग हुन सक्ला ? आर्थिक विपत्तिका कारण के श्रीमती वा बुबाआमाको जीवन सुखमय रहला ? पक्कै पनि सक्दैन । यसैले यस्ता अनपेक्षित अवस्थाका लागि आश्रितहरूलाई सुरक्षा दिने उपाय सोच्नु जरुरी छ । जीवन बीमा नै यस्तो अवस्थामा पूरै परिवारका लागि आर्थिक सुरक्षा दिने कवच हो । जीवन बीमा यस्तो साधन हो, जसले अल्पायुमा मृत्यु भए पूरै परिवारलाई आर्थिक सुरक्षा दिन्छ वा धेरै समयसम्म बाँचे आफू वा आश्रितलाई आर्थिक सुरक्षा ।
आफ्नो पूरै परिवारका सदस्यले सुरक्षित तरीकाले जीवनयापन गर्न सकून् भन्ने चाहना सबैमा रहेको हुन्छ । यसलाई दृष्टिगत गरी जीवन बीमाको रकम सीमा (बीमाङ्क) निर्धारण गर्न सकिन्छ । तर, बीमा गर्नुअघि हामीले मानव जीवनमूल्य के हो जान्नु जरुरी हुन्छ । मानव जीवनमूल्य भनेको घरको मुख्य व्यक्तिले भविष्यमा गर्न सक्ने आयआर्जन हो । बीमा कतिको गर्ने कुरा यसमा नै निर्भर गर्छ । घरको एउटा मुख्य व्यक्तिमाथि पूरै परिवार निर्भर रहने अवस्थामा उनले जीवनभरि कति आयआर्जन गर्छ, त्यसले नै बीमाङ्क रकम निर्धारण गर्छ ।
अर्को शब्दमा हामी के भन्न सक्छौं भने मानव जीवनमूल्य भविष्यमा आर्जन गर्ने अनुमानित रकमको वर्तमानमा निर्धारित मूल्य हो । यसरी निर्धारित मूल्यका आधारमा हाम्रो जीवन बीमा हुनुपर्छ, जसले गर्दा भविष्यमा हुन सक्ने बाधाव्यवधानबाट छुटकारा पाउन सकिन्छ । मानव जीवनमूल्यलाई निम्न तीन तत्वले प्रभाव पार्छ – उमेर, वर्तमान वा भविष्यमा हुने खर्च र वर्तमान वा भविष्यमा हुने आम्दानी ।
मानव जीवनमूल्य गणना गर्ने तरीका सबभन्दा पहिला सबै खर्च, जस्तै कर वा अन्य खर्चहरू आम्दानीबाट घटाउने र आउने बाँकी रकम (जुन रकम परिवारमा खर्च हुन्छ) त्यसलाई आधार मानेर बीमा गर्ने । मानौं, कमाइ गर्ने व्यक्ति वा प्रस्तावक (बीमा हुने व्यक्ति)को उमेर = ३० वर्ष । प्रस्तावक कुनै कम्पनीमा ५ वर्षदेखि कार्यरत छ ।
प्रस्तावकको मासिक आम्दानी = रू.२० हजार ।
प्रस्तावकको भविष्यमा हुने आम्दानी = रू.२० हजार ×१२×२८
= ६७ लाख २० हजार ।
(यदि ५८ वर्षसम्म जागीर गर्यो भने)
प्रस्तावकको मासिक व्यक्तिगत खर्च = रू.४ हजार ।
प्रस्तावकको जागीर अवधिसम्मको खर्च = रू.४ हजार×१२×२८ = रू. १३ लाख ४४ हजार ।
(२८ वर्षसम्म जागीर गरे ५८ वर्षमा सेवानिवृत्त)
प्रतिमहीना प्रस्तावकको परिवारमाथि हुने खर्च = रू. १६ हजार (परिवारमा बुबा–आमा, श्रीमती र छोराछोरी)
प्रतिवर्ष प्रस्तावकको परिवारमाथि हुने खर्च = रू. १६ हजार×१२ = रू. १ लाख ९२ हजार ।
जागीर अवधि (२८ वर्ष) सम्म परिवारमाथि हुने खर्च = रू. १ लाख ९२ हजार×२८
= रू. ५३ लाख ७६ हजार ।
बुबा–आमा, श्रीमती, छोरा–छोरी अर्थात् पूरै परिवारको दायित्व निर्वाह गर्न २८ वर्षमा रू. ५३ लाख ७६ हजार हुन बैङ्कमा रू. २४ लाख मुद्दती निक्षेप हुनुपर्छ, जुन तलको उदाहरणबाट स्पष्ट हुन्छ ।
उदाहरणका रूपमा वर्तमान मुद्दती निक्षेपको ब्याजदर ८ प्रतिशत छ । रू. २४ लाखको ८ प्रतिशत भनेको रू. १ लाख ९२ हजार हो । यसको मासिक आम्दानी अर्थात् रू. १ लाख ९२ हजारलाई १२ महीनाले भाग गर्दा रू. १६ हजार हुन्छ । रू. १६ हजार प्रतिमहीना पाउन बैङ्कमा रू. २४ लाख जम्मा हुनुपर्छ ।
अब प्रश्न उठ्छ बैङ्कमा सो रकम मुद्दती निक्षेप राख्न एकमुष्ट रूपमा कहाँबाट पैसा ल्याउने वा रू. २४ लाखको बीमा गर्न पनि कसरी गर्ने ? तर, परिवारको दायित्व निर्वाह गर्न बैङ्कमा राखिने मुद्दती निक्षेप कम्तीमा त्यति रकमको हुनुपर्छ वा आफ्नो उल्लिखित रकमको जोखिम वहन हुने गरी बीमा हुनुपर्छ । बैङ्कमा एकमुष्ट रूपमा मुद्दती निक्षेपमा रू.२४ लाख राख्न सम्भव नहुन सक्छ । तर, रू. २४ लाखको जोखिम वहन सावधिक जीवन बीमा र शुद्घ म्यादी तथा दुर्घटना बीमामार्फत गर्न सकिन्छ । यसलाई निम्न उदाहरणबाट स्पष्ट पार्न सकिन्छ ।
पहिलो चरण
बीमा योजना – सावधिक
बीमा अवघि – १५ वर्ष
बीमाङ्क – रू.२४ लाख
बीमाशुल्क – करीब रू. १ लाख ६० हजार
तर, वर्षमा रू.२ लाख ४० हजार आर्जन गर्ने व्यक्तिका लागि वार्षिक बीमाशुल्क रू. १ लाख ६० हजार तिर्ने गरी बीमा गर्नु सम्भव हुन सक्दैन ।
दोस्रो चरण
बीमा अवधि – २८ वर्ष (जागीर अवधि २८ वर्ष)
बीमाङ्क – रू.२४ लाख
बीमाशुल्क – करीब रू. ८५ हजार ७ सय
पुनः वर्षमा रू.२ लाख ४० हजार आर्जन गर्ने व्यक्तिका लागि वार्षिक बीमाशुल्क रू. ८५ हजार ७ सय तिर्ने गरी बीमा गर्नु सायद सम्भव हुँदैन ।
तेस्रो चरण
बीमा अवधि – २८ वर्ष
मूल बीमाङ्क (सावधिक) – रू. १२ लाख
शुद्घ म्यादी तथा दुर्घटना – रू. १२ लाख ।
बीमाशुल्क – करीब रू. ४५ हजार
तेस्रो उदाहरणबाट स्पष्ट हुन्छ कि कुनै व्यक्तिको वार्षिक आम्दानी रू. २ लाख ४० हजार छ भने बीमाङ्कलाई विभिन्न योजनामा विभक्त गरेर रू. २४ लाखको बीमा गर्न सक्छ । उसले वार्षिक बीमाशुल्क रू. ४५ हजार मात्रै तिरे पुग्छ । प्रत्येक व्यक्तिले आफ्नो आयआर्जनअनुसार उल्लिखित उदाहरणका आधारमा बीमाङ्क राखी बीमा गर्नुपर्छ । यसरी आफ्नो जागीर वा काम गर्न सक्ने अवधिसम्मका लागि आफ्नो बीमा गराई आफू र आफ्नो परिवारलाई सुरक्षित गर्न सकिन्छ । तसर्थ, बीमाबाट आफ्नो जोखिम वहन गराई पूरै परिवारलाई आर्थिक सुरक्षा दिलाउनु आजको अवश्यकता हो भने आफ्नो दायित्व निर्वाह गर्ने साधन हो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.