काठमाडौं । जिल्लास्तरीय संघहरूलाई अझ प्रभावकारी र बलियो बनाएर लैजानुपर्नेमा राष्ट्रिय सहकारी महासंघ सकारात्मक रहेको अध्यक्ष ओमदेवी मल्लले बताएकी छन् । बागमती प्रदेशका जिल्ला बचत तथा ऋण सहकारी संघहरूले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले जिल्लास्तरीय संघहरूको अस्तित्वका विषयमा महासंघ सकारात्मक रहेको धारणा व्यक्त गरेकी हुन् ।
संघहरू बलियो र दिगो भए मात्र महासंघ बलियो हुने विषयमा आफू स्पष्ट रहेको उनले बताइन् । उनले यस विषयमा जिल्लास्तरीय संघहरूसँग नै छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् । पछिल्लो समय महासंघ बहस पैरवीमा सक्रिय भइरहेको उपाध्यक्ष डिवि बस्नेत जानकारी दिए । उनले महासंघ आफ्ना सदस्य संघहरूको मुद्दालाई लिएर अगाडि बढिरहेको जानकारी गराएका थिए ।
संघीय सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा सहकारीको तहगत संरचनाको स्पष्ट व्यवस्था भएको र ती संरचनाको कार्यहरू पनि स्पष्ट किटान भएकाले जिल्लास्तरीय संघहरूले डिभिजन सहकारी खारेज भएको अवस्थामा सो निकायले गर्ने कार्यको सहजीकरण गर्दै आएको संघहरूको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
जिल्लास्तरीय संघहरूले प्रारम्भिक सहकारी संस्थाहरूको संस्थागत विकास तथा क्षमता अभिवृद्धि गरेको, सहकारीको पैसा सहकारीमा परिचालन गरेको र प्रारम्भिक संस्थालाई प्राविधिक ज्ञान हस्तान्तरण गर्नेदेखि नेतृत्व विकासमा भूमिका खेलेको विज्ञप्तिमा उल्लेख छ । साथै संघहरूले कोपोमिसनमा प्रारम्भिक संस्था आवद्ध रहेको संघ छनोट गर्नेमा जिल्ला तहका संरचना हटाई प्रदेश, केन्द्रीय र राष्ट्रिय सहकारी बैंकको संरचना मात्र रहेको विषयमा समेत गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । कोपोमिस प्रणालीमा जिल्ला तहको संरचना हटाउनु जस्तो गम्भीर त्रुटिलाई अविलम्ब सच्चाउन पहल गर्नसमेत माग गरिएको काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कुन)का अध्यक्ष दीपक पनेरूले बताए ।
जिल्ला संघले बुझाएको ज्ञापनपत्रमा ऋण तथा ब्याज असुलीमा सकस बढेकाले भाखा नाघेको ऋण बढेको अवस्थामा यस आर्थिक मसान्तको खाताबन्दीमा अन्योलको अवस्था सिर्जना भएको हुँदा सहकारी विभागमार्फत स्पष्ट मार्गनिर्देशन जारी गराउनुपर्ने समेत उल्लेख छ । त्यसैगरी सहकारी प्रवर्द्धन कोषको रकम सहकारी अभियानको प्रवद्र्धन लगानी गर्ने वातावरण सिर्जना गर्न, सहकारी ऐनमा रहेको सहकारी कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण लगायतका विषय कार्यान्वयनमा दबाब दिनसमेत महासंघलाई आग्रह गरिएको छ ।
सो कार्यक्रममा महासंघका सञ्चालक टेकप्रसाद चौलागाई, काशीचन्द्र बराल, परितोष पौड्याल, सुमन नेपाल, महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाको समेत उपस्थिति थियो । साथै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द्र लाखाजु, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उदयराम कायष्ठ, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष कल्पना श्रेष्ठलगायतको उपस्थिति थियो ।