काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले काठमाडौं उपत्यका हस्तकलाको साम्राज्य भएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित दोस्रो हस्तकला प्रवर्द्धन मेलाको उद्घाटन गर्दै मन्त्री पाण्डेले हस्तकलाको महत्त्व र योगदानमाथि प्रकाश पार्दै उक्त कुरा बताएका हुन् ।
'काठमाडौं उपत्यका हस्तकलाको साम्राज्य हो,' मन्त्री पाण्डेले भने, 'यहाँका नागरिकले कला र संस्कृतिलाई जीवित राख्नुभएको छ। दिगो विकासका लागि हस्तकलाले अतुलनीय योगदान दिएको छ।'
हस्तकला निर्माणका लागि साधना र धैर्यता आवश्यक हुने उल्लेख गर्दै मन्त्री पाण्डेले यस कार्यका लागि मानसिक तयारी समेत जरुरी हुने बताए । 'हस्तकला केवल शारीरिक श्रम होइन, मानसिक कलासमेत हो,' उनले भने, 'व्यावसायिक दृष्टिले समेत यस क्षेत्रको सम्भावना ठूलो छ ।'
मन्त्री पाण्डेले काठमाडौं उपत्यकाका तीनओटा दरबारलाई पुरानै शैली र स्वरूपमा पुनःनिर्माण गर्न सफल भएको जानकारी दिए । साथै, कला, सभ्यता र संस्कृति जोगाउन तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको औंल्याएका छन् ।
'सरकारले नीति बनाएर अघि बढ्नुपर्ने बेला आएको छ,' उनले भने, 'सांस्कृतिक क्षेत्रलाई संस्थागत र नीतिगत रूपमा अघि बढाउन मन्त्रालय प्रतिवद्ध छ ।' एकीकृत नीतिको आवश्यकतामाथि जोड दिँदै उनले राष्ट्रिय स्तरमै सांस्कृतिक संवाद आयोजना गर्ने तयारी गरिएको जानकारी दिए ।
मन्त्री पाण्डेले यसअघि प्रधानमन्त्रीको सहभागितामा सम्पन्न भएको राष्ट्रिय पर्यटन संवादको सफलताका आधारमा अब राष्ट्रिय सांस्कृतिक संवाद गरिने उद्घोष गरेका छन् । त्यसमार्फत नेपाली कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा थप योगदान पुग्ने उनको विश्वास छ ।