काठमाडौं । यही वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनमा भाग लिन यूएस चेम्बर अफ कमर्शका दक्षिण एसियाका लागि वरिष्ठ उपाध्यक्ष अतुल केशप काठमाडौं आइपुगेका छन् ।
उनी बिहीवार काठमाडौं ओर्लिएका हुन् । केशपलाई अमेरिकन च्याम्बर अफ कमर्स नेपालका अध्यक्ष निर्मल काजी श्रेष्ठ लगायतको टोलीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
श्रीलंका र मालदिभ्सका लागि अमेरिकी पूर्वराजदूत तथा भारतका लागि अमेरिकी नियोग उपप्रमुखको भूमिका निर्वाह गरिसकेका अमेरिकाका पूर्वकूटनीतिज्ञ केशप यतिबेला यूएस चेम्बर अफ कमर्शमार्फत सक्रिय छन् ।
लामो समय दक्षिण एसियामा रही काम गरेका केशप यस क्षेत्रको अर्थतन्त्र, व्यापारलाई नजिकबाट नियालेका छन् । नेपालमा अमेरिकन चेम्बर अफ कमर्श स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका केशपले नेपालमा अमेरिकी लगानी भित्र्याउनका लागि पनि विभिन्न स्थान र समयमा पैरवी गर्दै आएका छन् ।
सन् २०२१ मा नेपालमा अमेरिकन चेम्बर अफ कमर्श (एमच्याम) स्थापना गर्दा र सन् २०२२ नोभेम्बरमा यूएस चेम्बर अफ कमर्शबाट मान्यता दिलाउनका लागि पनि उनको विशेष भूमिका रहेको अमेरिकन चेम्बर अफ कमर्श, नेपाल (एमच्याम)का महाप्रबन्धक अमीरराज थापाको भनाइ छ ।
‘एमच्याम स्थापनापछि नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन, अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र तत्कालीन परराष्ट्र मन्त्री नारायणप्रकाश साउदलाई साक्षी राखेर अमेरिकी चेम्बर अफ कमर्शबाट मान्यता दिलाउनेमा पनि उहाँको योगदान ठूलो थियो,’ थापाले भने ।
उनले एमच्यामका लागि उक्त मान्यताले ठूलो अर्थ राख्ने बताए । उक्त मान्यताप्राप्तपछि एमच्यामका लागि विश्वका विभिन्न देशमा फैलिएको यूएस चेम्बर अफ कमर्शको नेटवर्कसम्मको पहुँचमा सहज मात्रै भएको नभई विश्वास पनि आर्जन भएको उनको भनाइ छ ।
थापा नेपालमा अमेरिकी लगानी भित्र्याउने सन्दर्भमा केशपले अमेरिका र विभिन्न नेटवर्कमार्फत गरिरहेको पैरवी निकै सकारात्मक भएको बताउँछन् । केशपजस्तो व्यक्तित्व लगानी सम्मेलनमा आउनु खुसीको कुरा भएको उनले बताए । ‘एमच्यामलाई शुरुआतदेखि नै उहाँले सहयोग गरिरहनुभएको छ । लगानी सम्मेलनमा उहाँको सहभागिताले अमेरिकी लगानीकर्तामा राम्रो सन्देश जाने हाम्रो विश्वास छ,’ थापाले भने ।
२८ वर्ष अमेरिकी सरकारका लागि कूटनीतिमार्फत सेवा गरेका उनी त्यसक्रममा भारतसँगै मोरक्को र गिनीमा रहेर काम गरिसकेका छन् । हाल उनी अमेरिका–इन्डिया बिजनेस काउन्सिल र अमेरिका–बंगलादेश बिजनेश काउन्सिलका अध्यक्षका रूपमा समेत काम गरिरहेका छन् ।
केशपले यसअघि अमेरिकी सरकारका तर्फबाट दक्षिण एसियाका ११ वटा देशमा अमेरिकी सम्बन्ध स्थापनाका लागि काम गरिसकेका छन् ।
एमच्यामका महाप्रबन्धक थापा नेपालमा हाल कायम अमेरिकी लगानीको सुरक्षा गर्दै दिगो बनाउन र थप लगानी नेपाल ल्याउनका लागि केशपको भूमिका महत्वपूर्ण हुनसक्ने बताउँछन् । केशवले लगानी सम्मेलनमा वक्ताका रूपमा सहभागिता जनाउने छन् । उनले लगानी सम्मेलनमार्फत नेपालमा लगानीको वातावरण, सम्भावित क्षेत्रमा अमेरिकी लगानीको सम्भावनाबारे आफ्ना धारणा राख्नेछन् ।
उनको उपस्थितिले अमेरिकी चेम्बर अफ कमर्शमा आबद्ध विश्वका एक सय ३० भन्दा बढी संस्थामा आबद्ध लगानीकर्ताहरुमा सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ ।