काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषले चैत मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस फण्डले चैत मसान्तसम्ममा रू. ४७ करोड ८३ लाख लगानी गरेको छ । यो लगानी फागुन मसान्तमा रू. ४७ करोड ८० लाख थियो ।
त्यस्तै फण्डको न्याभ फागुन महीनाको तुलनामा चैत महीनामा घटेको छ । फागुन मसान्तमा फण्डको न्याभ १० रुपैयाँ २६ पैसा रहेकोमा चैत मसान्तमा घटेर १० रुपैयाँ १४ पैसामा सिमित भएको हो । फण्डको नोक्सानी फागुन महीनाको तुलनामा चैत महीनामा बढेको छ ।
फागुन मसान्तमा फण्ड रू.४ करोड ३९ लाख नोक्सानीमा रहेकोमा चैत मसान्तमा बढेर रू. ५ करोड १४ लाख पुगेको हो । चैत महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र आम्दानी ऋणात्मक रहेकाले फण्ड नोक्सानीमा देखिएको हो ।
फण्डको कुल खर्च फागुन मसान्तमा रू. ७८ लाख १२ हजार रहेकोमा चैत मसान्तमा बढेर रू. ८७ लाख ६६ हजार पुगेको छ । त्यस्तै फण्डको जम्मा आम्दानी रू. ४ करोड २६ लाख ऋणात्मक रहेको छ ।