काठमाडौं । भैरहवामा सञ्चालित आयुर्वेद औषधी तथा आयुर्वेद खाद्यपदार्थ उत्पादन गर्ने कम्पनी लुम्बिनी हर्बोस्यूटिकल्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यी सबै प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सेवासम्बन्धी सम्झौता गरेको छ ।
यससम्बन्धी सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र लुम्बिनी हर्बोस्यूटिकल्सका अध्यक्ष डा. ध्रुव भट्टराईले हस्ताक्षर गरेका हुन् । एलिट क्यापिटलले ‘रोड टु आईपिओ’ योजनाअन्तर्गत लुम्बिनी हर्बोस्यूटिकल्सलाई थप पूँजी जुटाउँदै पब्लिक कम्पनीमा रूपान्तरण गरी आईपीओ निष्कासन गर्न परामर्श सेवा प्रदान गर्नेछ ।
एलिटले कम्पनीको पूँजी वृद्धि, व्यवसाय विस्तार, वित्तीय व्यवस्थापन र बजारीकरणका लागि समेत संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको छ । यसबाहेक आईपीओ निष्कासन प्रयोजनका लागि विक्री प्रबन्धक र अण्डरराईटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्नेछ ।
हाल १३ करोड चुक्तापूँजी रहेको यस कम्पनीमा नयाँ लगानीकर्ता थपिएसँगै पूँजीवृद्धि गरी नयाँ प्लान्टमार्फत उत्पादन शुरु गर्न लागिएको छ । रूपन्देहीको तिलोत्तमा-१५ मा आफ्नै भवनमा रहेको कारखानामा यस कम्पनीले विभिन्न ब्राण्डका करीब २ दर्जन आयूर्वेदजन्य औषधी तथा खाद्यपदार्थ उत्पादन गरिरहेको छ ।