मधेश समृद्धिको मार्गचित्र बनाउँदै छौं
अशोककुमार टेमानी
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेश
मधेश प्रदेश भूगोलमा सबैभन्दा सानो भएर पनि बढी जनसंख्या भएको प्रदेश हो । मधेश देशकै मुख्य गेटवे हो । यस प्रदेशका आठओटै जिल्लाको सिमाना भारतसित जोडिएको छ । जनसंख्या र सिमानाको उचित उपयोग हुन सकेको छैन । यसलाई समृद्घिको ठोस आधार बनाउन सकिन्छ । मधेश उत्पादन र आपूर्तिको मुहान पनि हो ।
कार्गो र यात्रु आवतजावत अधिकांश यहीँबाट हुन्छ । ७५ प्रतिशत पारवहन वीरगञ्ज नाकाबाट नै परिचालन हुन्छ । वीरगञ्जलाई वेयर हाउस र आपूर्ति शृंखलाको हबका रूपमा विकास गर्न सकिन्छ । यस क्षेत्रमा सानादेखि बहुराष्ट्रिय उद्योगसम्म छन् । आधाभन्दा बढी भन्सार राजस्व यही नाकाबाट संकलन हुन्छ । यो क्षेत्रलाई आर्थिक राजधानीको विशिष्ट क्षेत्र पनि मानिँदै आएको छ । सुक्खा बन्दरगाह, आईसीपी, फास्ट ट्र्याक, प्रस्तावित निजगढ विमानस्थललगायत पूर्वाधार यहाँका सम्भाव्यता आधार हुन् । नेपालका एअरपोर्ट निर्माण र सञ्चालनमा बाह्य लगानीकर्ताको रुचि देखिएको छ । हामीलाई प्रकृतिले पर्याप्त पर्यटकीय सम्भावना दिएको छ । तर पनि पर्यटक किन ल्याउन सकेका छैनौं ? यहाँ सम्भावनाहरूको पनि कमी छैन । तर, विकासका अधिकांश सूचकमा हामी किन पछाडि परेका छौं ? कृषिको सम्भावना बढी भएर पनि किन पिछडिएका छौं ? हामी यसको कारणको खोजीमा जुटेका छौं ।
समग्रमा भन्दा उद्योग, व्यापार, कृषि, पयर्टन, शिक्षा, स्वास्थ्य, कला संस्कृति, युवा, खेललगायतमा मधेश कुन स्थानमा छ ? हाम्रो प्रदेशका जिल्लाहरूको योगदान कति छ ? अबको १० वर्षमा मधेशको समृद्धिको स्तर कहाँ हुनुपर्छ र त्यसका लागि कस्तो मार्गचित्र चाहिन्छ ? भन्ने अभियानमा हामी जुटेका छौं । तथ्यको खोजी गरेर विकासको मार्गचित्र बनाई त्यसका आधारमा समृद्धिको यात्रा थाल्ने योजनामा हामी छौं । यसमा प्रदेश सरकारलगायत सबैको सहयोगको आपेक्षा लिएका छौं ।
योजना र इमानदारी चाहिन्छ
मदन लम्साल
अध्यक्ष, न्यू बिजनेश एज प्रालि
देशको जीडीपीमा मधेशको योगदान १३ प्रतिशत छ । देशको कुल जीडीपी ५३ खर्ब ८१ अर्ब रुपैयाँ हुँदा मधेशको ७ खर्ब ७ अर्ब रुपैयाँ छ । भूगोलमा सानो भएर पनि मधेश जनसंख्यामा अगाडि छ । जनसंख्या विकासको एउटा प्रमुख आधार हो । मधेशको समृद्धिका लागि रणनीतिक योजना र इमानदारी चाहिन्छ । कृषिमा मधेशको अधिक सम्भावना छ । देशको अर्थतन्त्रमा कृषिक्षेत्रको औसत योगदान २४ प्रतिशत हुँदा मधेशमा यसको योगदान ३५ प्रतिशत छ । यसको अर्थ कृषिक्षेत्रले मधेशको समृद्धिलाई अघि बढाउन सक्छ भन्ने हो । तर, देशको औसत प्रतिव्यक्ति आय १३ सय ९९ अमेरिकी डलर हुँदा मधेशको ८७५ डलरमात्रै छ ।
यो सातै प्रदेशमा सबैभन्दा कम हो । भौगोलिक अवस्थितिका कारण मधेशमा उद्योग, व्यापार, पारवहन, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता पक्षको सम्भावना अधिक छ । यी सबै क्षेत्रमा अपेक्षित काम हुन सकेको छैन । मुख्य नाका र वैदेशिक व्यापार, उद्योग, पर्यटनलगायत पूर्वाधार समेटिएको पर्सा जिल्लाले मधेशको अर्थसामाजिक विकासका उल्लेखनीय योगदान दिन सक्छ । यस्ता सम्भावनाको सही उपयोग हुने हो भने समग्र अर्थतन्त्रको सबलीकरणको आधार बन्न सक्छ । यसका लागि तहगत सरकार, निजीक्षेत्र र सरोकारका सबै पक्ष आआफ्नो ठाउँबाट इमानदार भएर काम गर्नुपर्छ । यसलाई समृद्धिको अभियानका रूपमा अघि बढाइनुपर्छ ।
मधेशले राजस्वमा ५० प्रतिशत योगदान दिन सक्छ
डिलाराम पन्थी
प्रमुख भन्सार प्रशासक, वीरगञ्ज भन्सार कार्यालय
देशको कुल राजस्वमा मधेशले एकतिहाई योगदान दिएको छ । यसमा वीरगञ्ज भन्सारको अंशमात्रै २० प्रतिशत छ । मधेशमा जनशक्ति छ । यो प्रदेश देश विकासको मुख्य स्रोत हो । मधेश प्रदेश कृषिको सम्भावना भएको प्रदेश हो । सिँचाइको सम्भावना पनि छ । फास्टट्र्याक बनेपछि राजधानी काठमाडांैलाई जोड्ने मार्ग सजिलो र कम खर्चिलो हुनेछ । यो अर्को सम्भावना हो । मधेशको जनसंख्या र कृषिको सम्भावनालाई उपयोग गर्न सक्दा मधेशको योगदान अगामी १० वर्षमा राजस्वमा ५० प्रतिशत पुग्न सक्छ । उत्पादन, व्यापार र पर्यटनले भारतसँगको खुला सिमानाको लाभ लिनेछ । यस्ता सम्भावनाको सही उपयोग गर्नुपर्छ ।
विकासका लागि शिक्षामा सुधार अपरिहार्य
प्रा.डा. दीपक शाक्य
उपकुलपति
मधेश विश्वविद्यालय
उद्योग, व्यापार, स्वास्थ्य, वित्त सबैको उन्नति शिक्षाको सफलतासित जोडिएको छ । शिक्षा भनेको शिक्षण संस्थामा हुने औपचारिकतामात्र होइन, यसमा खोजी, इनोभेशन, नेटवर्किङ सबै कुरा समेटिन्छन् । वीरगञ्ज क्षेत्र उद्योग र व्यापारभन्दा पनि पहिला शिक्षाको क्षेत्र हो । त्रिभुवन विश्वविद्यालयभन्दा पनि जेठो कलेज ठाकुरराम क्याम्पस यहाँ छ । तर, शिक्षाको स्तर खस्किँदै गएको छ, यो चिन्ताको विषय हो । शिक्षाको अवस्था सुधार्न ध्यान जानुपर्छ । गुणस्तरीय शिक्षा आजको आवश्यकता हो भन्ने कुरा बुझेर नै मधेशमा विश्वविद्यालय खुलेको हो । वीरगञ्जको मधेश विश्वविद्यालय यही अभियानअन्तर्गत आएको हो । अहिले १८ देखि ४० वर्ष उमेरसमूहका युवा बाहिरिनेक्रम बढेको छ । यो गम्भीर चिन्ताको विषय हो । शिक्षा र उद्योगमा राजनीतीकरण बढी भइरहेको छ । सुशासन, नीतिनियम, सुरक्षालगायतको एकीकृत योजना ल्याउनुपर्छ । यसमा संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य देखिएको छैन ।
एक वर्षको आयात धान्ने सञ्चिति छ
अजित रेग्मी
निर्देशक
नेपाल राष्ट्र बैंक, वीरगञ्ज
नेपाल राष्ट्र बैंकले सरोकारका सबै निकायसँग छलफल, सहकार्य र समन्वय गरेर नीति ल्याएको हुन्छ । यस्ता नीतिको उद्देश्य आर्थिक स्थायित्व, अर्थतन्त्रको दिगो विकास, वित्तीय स्थायित्व, वित्तीय सहजता र सरलीकरण नै हुन । शोधनान्तर स्थिरता कायम गर्न विदेशी विनिमयको उपलब्धता हेरेर यस्ता नीतिहरूमा संशोधन हुनु स्वाभाविक हो, यो भइरहेको छ । लगभग १ वर्षअघि विदेशी मुद्राको सञ्चिति कम भएको बेला आयात कम गर्नुपर्ने आवश्यकता थियो र सोहीअनुसारको नीति लिइएको थियो । अहिले हामीकहाँ १ वर्षको वस्तु तथा सेवाको आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति छ । सोहीअनुसार आयात खुकुलो हुने गरी नीति परिमार्जन गरिएको छ ।
पर्यटक हेल्प डेस्क राख्न जरुरी छ
अनिलकुमार अग्रवाल
अध्यक्ष, वीरगञ्ज उद्योग वाणिज्य संघ
मधेशमा कृषि, पर्यटन र उद्योगको सम्भावना छ । वीरगञ्ज ठूलो उद्योग क्षेत्रमात्र नभएर आर्थिक राजधानी पनि मानिन्छ । तर, अहिले उद्योग व्यापार जटिल अवस्थामा छ । निजीक्षेत्रको उत्साह खस्किएको छ । यसमा हामीले सरकारलाई बारम्बर भनेका छौं, तर निकास पाएको छैन । हामी विद्युत्को सम्भावनामा विश्वमै धनी भन्छांै, तर नेपाल विद्युत् प्राधिकरणले अहिले पनि अघोषित लोडशेडिङ गरेको छ । उद्योगमा १२ घण्टा लाइन काटेको छ । काट्नै परे समय तालिका बनाएर
काट्नुपर्छ । जथाभावी काट्दा उत्पादनका क्रममा नोक्सानी बढेको छ । बैंकबाट १४/१५ प्रतिशतमा ऋण लगानी गरेर उद्यम फस्टाउन सक्दैन । चालू पूँजीकर्जाको व्यवस्थाले व्यवसायमा समस्या पारेको छ । घरजग्गामा लगानी हुन सकेको छैन । सरकारले सिमेन्ट निकासीमा ८ प्रतिशत अनुदानको घोषणा गर्यो तर भारतमा गुणस्तरको कुरा उठाएर रोक लगाइएको छ । यसले गर्दा निकासी हुन सकेको छैन । सरकारले यसमा पहल गरिदिएको छैन । भारतीय पर्यटक भित्त्याउन स िकन्छ । सिमानामा पर्यटक हेल्प डेस्क राख्न जरुरी छ । भारतको अयोध्याको राममन्दिर र जनकपुरको जानकी मन्दिरका साथै पशुपति, मुक्तिनाथलगायत धार्मिक स्थललाई प्याकेजका रूपमा अघि बढाउने हो भने पर्यटनबाट लाभ लिन सकिन्छ ।
शिक्षाको पूर्वाधार उपयोग हुन सकेको छैन
प्रदीपकुमार केडिया
पूर्वअध्यक्ष
वीरगञ्ज उद्योग वाणिज्य संघ
सार्वजनिक विद्यालयहरू राजनीतिक दलका नेता र सरकारी निकायका अधिकारीहरूका नातेदार भर्नाका थलो बनेका छन् । यस्ता शिक्षकलाई पढाउन आउँदैन । यसले शिक्षाको अवस्था कमजोर बनाएको छ । पढ्ने र पढाउने वातावरण छैन । शिक्षाको स्तर नउठेसम्म आर्थिक सामाजिक विकासको कल्पना पनि गर्न पनि सकिँदैन । शिक्षाक्षेत्रमा पूर्वाधार पर्याप्त भए पनि उपयोग भएको छैन । यसलाई समयमै सम्बोधन गर्नुपर्छ ।
मधेशको विकास अपरिहार्य छ
हरि गौतम
वरिष्ठ उपाध्यक्ष
वीरगञ्ज उद्योग वाणिज्य संघ
सातै प्रदेशमध्ये मधेश प्रदेशमा सबैभन्दा बढी जनसङ्ख्या छ । उब्जाउ भूमि छ । बाटोघाटो बनाउन समथर जमीन भएकाले सजिलो छ । हरेक आधा घण्टाको दूरीमा स्कूल छन् । अस्पताल तथा स्वास्थ्य चौकी छन् । उद्योग स्थापना भएका छन् । सिँचाइको सहज अवसर छ । सीमावर्ती क्षेत्र भएकाले अन्तरराष्ट्रिय व्यापार तथा आवतजावतमा सजिलो छ तर पनि मधेश मानव विकास सूचकांकमा पछाडि । प्रतिव्यक्ति आम्दानी ८५० अमेरिकी डलर मात्रै छ । कर्णाली प्रदेश पछि दोस्रो अविकसित प्रदेश मधेश प्रदेश हो । यहाँ शिक्षाको अवस्था राम्रो छैन । स्वास्थ्यको अवस्था राम्रो छैन । कृषि उत्पादकत्व उत्साहप्रद छैन । बाटोघाटो पर्याप्त छैन । समग्रमा मधेश विकासका आधारमा अत्यन्त पिछडिएको छ । हामी सबैले बुझ्नुपर्ने के हो भने जबसम्म मधेशलाई समग्र रूपमा विकसित गरी एक समृद्ध प्रदेश बनाइँदैन, तबसम्म नेपालको विकास सम्भव छैन । त्यसैले मधेशको विकास अपरिहार्य छ ।
नियमित विद्युत् आपूर्ति हुनुपर्छ
माधव राजपाल
उपाध्यक्ष
वीरगञ्ज उद्योग वणिज्य संघ
मधेशमा ८०० मेगावाट विद्युत् खपत हुनेमा बारा र पर्सामा ४०० देखि ५०० मेगावाटको माग छ । नेपालका अधिकांश जलविद्युत् आयोजना नदीप्रवाहमा आधारित भएकाले हिउँदमा विद्युत् उत्पादन आधामा सीमित हुन्छ । अहिले उद्योगमा दैनिक १० देखि १२ घण्टासम्म विद्युत् कटौती भइरहेको छ ।
यसबाट उत्पादनमा नोक्सानी र लागत बढेको छ । विद्युत् अभाव समाधानका लागि थर्मल र सौर्य ऊर्जाको विकल्पमा जानुपर्छ । थर्मलका लागि सरकारले कोइलाको आयातमा राजस्व छूट दिनुपर्छ । मधेशको सिमरादेखि अमलेखगञ्जसम्म सौर्य ऊर्जा उत्पादनको अधिक सम्भावना छ । मधेश सरकारले पनि सौर्य ऊर्जाको योजना ल्याएको थियो, त्यसलाई अघि बढाइनुपर्छ । अर्को, वैदेशिक व्यापार नीतिमा समस्या छ । कतिपय आयातित वस्तुमा भन्सारमा लिइने राजस्व बढी हुँदा त्यस्ता वस्तुको अवैध आयात बढेको छ । सरकारले यस्तो नीतिमा सुधार गर्नुपर्छ ।
अनुसन्धान नभई प्रविधि आउँदैन
डा. विश्वेश्वरप्रसाद यादव
निर्देशक
कृषि अनुसन्धान निर्देशनालय
कृषि नै मधेशको समृद्धिको मुख्य आधार हो । यहाँ कृषिलाई नै उद्योग र पर्यटनसित जोड्न सकिन्छ । प्रविधिको विकास नभई कृषिको आधुनिकीकरण हुँदैन । तर, हामीकहाँ खोज अनुसन्धानका क्षेत्रलाई प्राथमिकतामा राख्ने परिपाटी नै भएन । अनुसन्धान नभई प्रविधि आउँदैन । स्थानीय सरकारको बजेटमा पनि कृषिलाई न्यून प्राथमिकतामा राखिएको छ । ७ लाख टन रासायनिक मलखाद आवश्यक पर्नेमा सरकारले साढे ३ लाख टनमात्र भित्त्याउन सकेको छ । युवा पलायनले कृषिमा जनशक्तिको अभाव छ । मधेशमा पानीको समस्या देखिन थालेको छ । मधेशको जमीन उर्वर भए पनि सिँचाइको अभावमा उत्पादकत्व बढाउन सकिएको छैन । तर, स्रोतको कमी छैन, यसको व्यवस्थापनमा सोचको कमीले समस्या बढ्ने अवस्था छ ।
युवा पलायन गम्भीर समस्या बन्दै छ
विनोद गुप्ता
विश्लेषक
अहिले देशबाट युवा पलायन बढेको छ । स्वदेशमा रोजगारी नपाएपछि बाहिर जानेहरूको संख्या दिनप्रतिदिन बढेको छ । ऊर्जाशील युवाशक्ति विदेशमा जाँदा स्वदेशका गाउँशहर युवाविहीन भइरहेका छन् । यसबाट देशमा उत्पादन र माग प्रभावित भएको छ । बजारमा माग खस्किनु र अर्थतन्त्रमा मन्दी देखिनु यसैको परिणाम हो । यसको चक्रीय प्रभाव अर्थतन्त्रमा पर्छ । यसमा बेलैमा सतर्क भएर युवालाई स्वदेशमै राख्ने रणनीतिक उपायमा नजाने हो भने यो गम्भीर समस्या बन्नेछ ।
मधेशको पर्यटनलाई भारतको अयोध्यासँग जोड्नुपर्छ
मोहन शर्मा
अध्यक्ष, जितपुरसिमरा उद्योग वाणिज्य संघ
पर्यटनमा नयाँ माग आएको छ । परिस्थितिअनुसार मधेशले पर्यटनको रणनीतिमा परिवर्तन गर्नुपर्छ । जनकपुरको जानकी क्षेत्र र बाराको गढिमाईको प्रवर्द्धन जरुरी छ । जनकपुरलाई भारतको अयोध्यासँग जोडेर प्रवर्द्धन गरिनुपर्छ । अयोध्यामा आएकामध्ये कम्तीमा २० प्रतिशत पर्यटकलाई मात्र यहाँ ल्याउन सकियो भने ठूलो उपलब्धि हुनेछ । हामीले निम्तो लिएर त्यहाँ जानुपर्छ । होटेल व्यवसायमा पैसा र रहरले आउनेहरू बढी छन् । अहिले पनि जनकपुर क्षेत्रमा स्तरीय होटेलको कमी छ । पर्यटनको उपयुक्त प्याकेज बनाउन सकिएको छैन । भारतबाट आउनेलाई वास बस्न दिएरमात्र लाभ हुँदैन, त्यसलाई स्थानीय पर्यटनसित जोड्नुपर्छ । हवाई कनेक्टिभिटी जरुरी छ । पोखरा र भैरहवाका विमानस्थलमा पैसा अड्कियो, तर सम्भावना भएको निजगढ र द्रुतमार्ग अलपत्र परे ।
शिक्षामा गुणात्मक सुधार हुन सकेन
इन्दुशेखर मिश्र
सहप्राध्यापक
प्रजातन्त्र पुनर्बहालीपछि शिक्षण संस्थाहरू निकै खुले । यो समयमा संख्यात्मक सुधार भयो तर यो गुणात्मक हुन सकेन । मधेशमै तीनओटा विश्वविद्यालय खुलेका छन् । एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठान छ । शिक्षामा सुधारको खाँचो छ । त्रिभुवन विश्वविद्यालयका कार्यक्रमहरू पहिल्यैदेखि सञ्चालनमा छन् । वीरगञ्जको ठाकुरराम क्याम्पसमा एउटै कोठामा ६०० विद्यार्थी राखेर पठाउनुपर्ने अवस्था छ । शिक्षाको अवस्था सुधारमा सरोकारका सबै पक्ष जिम्मेवार हुनुपर्छ । नीति बनाउने संघ सरकार र लागू गर्ने स्थानीय सरकारबीच समन्वय नै भएन । कुनै पनि नीति कार्यान्वयनको समयसीमा र उद्देश्य निश्चित हुनुपर्छ । प्रभावकारी व्यवस्थापन र प्रक्रिया चाहिन्छ ।
ढुवानीलाई प्राथमिकतामा राख्नुपर्छ
राजेन्द्रप्रसाद गुप्ता
ढुवानी व्यवसायी
वीरगञ्ज मुख्य नाका भएकाले यहाँ ढुवानी कारोबार पनि स्वाभाविक रूपमा बढी हुन्छ । व्यपार र उत्पादनमा ढुवानीको लागत मुख्य हुन्छ । ढुवानीलाई प्रभावकारी र लागत न्यूनीकरण गर्दा अर्थतन्त्र निर्माणमा सहयोग हुन्छ । हामीजस्तो भूपरिवेष्टित देशमा ढुवानी लागतको खास योगदान हुन्छ । हाम्रोजस्तो देशको व्यापारमा ढुवानीको खर्च ३०/४० प्रतिशतसम्म भएको सुनिन्छ । ढुवानीलाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन सरकारले ल्याएका नीतिनियमहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्छ ।
शिक्षाको गुणस्तर बढाउनुपर्छ
डा. दीपेन्द्र चौधरी
विश्लेषक
विकासको आधार भनेकै शिक्षा हो । शिक्षाको अवस्था कमजोर हुनु मधेश विकासका पछाडि पर्नुको कारण हो । शिक्षामा लगानी बढाउनुपर्छ । र, त्यो सही ठाउँमा खर्च भएको छ कि छैन भन्ने कुराको नियमन जरुरी छ । शिक्षा गुणस्तरीय र जीवनोपयोगी दुवै हुनुपर्छ । शिक्षामा भइरहेको लगानीले प्रतिफल दिन सरोकारका पक्षमा इमानदारी चाहिन्छ, त्यसको अभाव छ ।
सुधार हामीले नै गर्नुपर्छ
वीरेन्द्रप्रसाद शाह
सहप्राध्यापक
ठाकुरराम बहुमुखी क्याम्पस
विकासका लागि क्षेत्रगत मन्थन गरी त्यसका निचोडहरूलाई कार्यान्वयनमा ल्याउनुपर्छ । मधेश विकासमा कर्णालीभन्दा पनि तल किन भयो ? यो हामीले नै बनाएको हो । यो अवस्था आउनुमा हामी सबैको दोष छ । अब सुधार पनि हामीले गर्ने हो । शिक्षाको स्तरमा सुधार गर्नुपर्छ । विश्वविद्यालय थप्दैमा सुधार हुने पनि होइन ।
निजीक्षेत्रको भूमिका महत्त्वपूर्ण छ
रञ्जन यादव
प्रमुख, परराष्ट्र मन्त्रालय सम्पर्क कार्यालय, वीरगञ्ज
मानवपूँजी विकासको महत्त्वपूर्ण आधार हो । तर, यो एउटा समयसीमा लागि हुन्छ । यसलाई केन्द्रमा राखेर र अर्थसामाजिक रूपान्तरणको योजना बनाउनुपर्छ । इनोभेशन र उद्यमशीलताको खाँचो छ । स्मार्ट कृषिबाट आर्थिक क्रान्ति गर्न सकिन्छ । कृषिसम्बन्धी इनोभेशन, बजारको विविधीकरण चाहिन्छ । । यसमा निजीक्षेत्रको भूमिका हुन्छ । साना र मझौला उद्यमीलाई माथि उकास्ने नीति चाहिन्छ ।
कृषिका निकायमा जनशक्ति अभाव छ
सुरेन्द्रप्रसाद कुर्मी
कृषि प्रसार अधिकृत
कृषि ज्ञान केन्द्र, पर्सा
कृषिक्षेत्रका निकायहरूमा जनशक्तिको अभाव छ । मधेश र त्यसमा पनि पर्सामा झन् समस्या छ । कृषि ज्ञान केन्द्रमा १७ जनाको दरबन्दीमा ४/५ जनामात्रै छौं । कृषिको कुरा गर्दा सिँचाइको अभाव छ । सरकारले सिँचाइमा अनुदान दिएको छ । यो पर्याप्त हुन सकेको छैन । किसानमा माटोको उर्वराशक्ति र मलखादको प्रयोग तरीकाबारे चेतनाको पनि कमी छ । कृषिको उत्थानमा तहगत सरकारबीच सहकार्य हुनुपर्छ । यसमा स्थानीय सरकारको भूमिका बढी हुनुपर्छ ।
पर्यटनलाई सहजीकरण गर्नुपर्छ
हरि पन्त
अध्यक्ष, होटेल तथा पर्यटन व्यवसायी संघ, वीरगञ्ज
मधेशमा पर्यटनको ठूलो सम्भावना छ । जनकपुरको जानकी मन्दिर, बाराको गढिमाई मन्दिर र पर्सा निकुञ्ज यहाँका मुख्य आकर्षण हुन् । यी स्थानसँग अन्य महत्त्वका क्षेत्रलाई जोडेर ब्रान्डिङ गरिनुपर्छ । भारतीय नै यहाँ आउने मुख्य पर्यटक भएकाले सहजीकरण हुनुपर्छ । सिमानामा भारतीय पर्यटकले अनावश्यक हैरानी खेपेका छन् । यसो हुँदा राम्रो सन्देश गएको छैन ।
प्राज्ञिक क्षेत्रमा राजनीतीकरण हुनु हुँदैन
राजेन्द्र कोइराला
विश्लेषक
द्वन्द्वबाट बाहिर निस्केको देशमा कम्तीमा २०/२५ वर्ष आर्थिक र सामाजिक स्थायित्व हुँदैन । यो विश्वको अभ्यासले देखाएको कुरा हो । मधेशमा केही छैन र केही गर्न सकिँदैन भन्ने खालको कमजोर भाष्य परिवर्तन जरूरी छ । सबै सरोकार शिक्षाको अवस्थासित जोडिन्छ । विकासका लागि कस्तो जनशक्ति चाहिने हो, त्यसअनुसारको शिक्षा चाहिन्छ । हाम्रो युवाशक्ति बाहिरिएको छ । तर, सामान्य कामका लागि भारतबाट यहाँ आएर काम गर्नेले वर्षेनि अर्बौैं विप्रेषण लैजान्छन् । यो गम्भीर विषय हो । प्राज्ञिक क्षेत्रमा राजनीतीकरण भइरहेको छ । यो शिक्षाको सबैभन्दा ठूलो समस्या हो । यसलाई हटाउनुपर्छ ।