वीरगञ्ज। मधेश प्रदेश आर्थिक विकासको सम्भाव्यतामा अगाडि भएर पनि सम्भावनाको रूपान्तरणमा पिछडिएको छ । भौगोलिक रूपमा देशको मध्यभागमा रहनु, प्रदेशका ८ ओटै जिल्लाको सिमानामा भारतसित जोडिनु, उद्योग, व्यापार र सहज पारवहनका कारण वैदेशिक व्यापार र उत्पादनमा सहज मानिनु, भौतिक पूर्वाधार निर्माणका सहजतालगायतका सम्भावनाहरूलाई मधेशले समेटेको छ ।
कृषि, पर्यटन, उद्योग र व्यापार मधेश प्रदेशको समृद्धिका मूल आधार बन्न सक्दछन् । देशको कुल राजस्वमा मधेशको योगदानको आधार उल्लेख्य छ । तर, यी सबै अवसरहरूले यहाँको सामाजिक दैनिकीलाई छुन सकेको छैन । विकास र समृद्धि मधेशको बाटो भएर अन्य प्रदेशतर्फ जान्छ, यो प्रदेश बत्तीमुनिको अँध्यारो अवस्थामा किन छ ?
मानवीय विकासको सूचकमा मधेश पिछडिएको छ । बहुआयामिक गरीबीमा मधेशले कर्णालीलाई मात्र उछन्न सकेको छ । प्रतिव्यक्ति आयमा यो प्रदेश पुछारमा छ । साक्षरतामा सबैभन्दा कमजोर छ । मधेश प्रदेश गरीबी, अशिक्षा, बेरोजगारी, अभावको नमूना किन बनिरहेको छ ? भौगोलिक रूपमा सबैभन्दा सुगम भनिएको मधेशको तुलना विकट कर्णाली प्रदेशसँग किन हुन्छ ?
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश र न्यू बिजनेश एज प्रालिको सहकार्यमा यस्ता प्रश्नको सापेक्ष समाधान निकाल्दै मधेशको विकासको मार्गचित्र तयार पार्ने अभियान थालिएको छ । मधेश समृद्धि शृङ्खलाअन्तर्गत पर्साको वीरगञ्जमा भएको ‘पर्साको अर्थसामाजिक रूपान्तरण’ विषयक अन्तरसंवादका सहभागीले कृषि, उद्योग र पर्यटनको प्रवर्द्धनमार्फत मधेशको आर्थिक र सामाजिक उन्नति सम्भव हुने बताएका थिए । पर्सा जिल्लाका सम्भावनालाई मधेशको समृद्धि अभियानमा कसरी जोड्न सकिन्छ भन्नेमा बहस केन्द्रित थियो । देशको मुख्य औद्योगिक कोरिडोर र आर्थिक केन्द्र वीरगञ्जलाई समेटेर रहेको पर्साको सम्भाव्यतालाई समेट्दै मधेशको समृद्धि अभियानमा अघि बढ्नुपर्ने सहभागीहरूले बताएका छन् ।