काठमाडौं । दक्षिण कोरियाले सन् २०२४ मै थप दुई नयाँ क्षेत्रमा नेपाली कामदार आफ्नो मुलुक लैजाने भएको छ । कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत हाल ३०० जनाभन्दा कम कामदार रहेका साना तथा मझौला उत्पादनमूलक कम्पनी र कृषि तथा पशुपालन क्षेत्रमा नेपाली कामदार लिइरहेको छ ।
‘यो वर्षको अन्त्यतिरबाट सेवा र वनक्षेत्रमा पनि नेपाली कामदारले ईपीएसअन्तर्गत कोरियामा रोजगारीको अवसर प्राप्त गर्नुहुनेछ,’ नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले बुधवार आयोजित पत्रकार सम्मेलनमा भने, ‘यसको लागि कोटा पनि निर्धारण भइसकेको छ ।’वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाका अनुसार उत्पादनमूलक उद्योग र कृषिक्षेत्रमा काम गर्न जान भनेर कोरियाली भाषा परीक्षा पास गरेर रोस्टरमा रहेकालाई नै सेवाक्षेत्रमा पठाउन लागिएको छ ।
‘कोरियाले सामान्यतया क्षेत्र परिवर्तन गरेर कामदार नलाने भए पनि हाम्रो अनुरोध स्वीकारेर एकचोटिलाई उत्पादनमूलक उद्योग र कृषिको रोस्टरमा रहेकामध्येबाट सेवाक्षेत्रमा कामदार लाने भएको छ,’ ईपीएस (कोरिया) शाखाकी निर्देशक मैयाँ कँडेलले आर्थिक अभियानसँग भनिन्, ‘त्यसैले हामीले रोस्टर परिवर्तन गरेर लगभग सिध्याएका छौं । यो वर्षको डिसेम्बर अन्त्यसम्म म्याद रहेका कामदारलाई प्राथमिकता दिएर रोस्टर परिवर्तन गरेका छौं ।’
सेवाक्षेत्रअन्तर्गत नेपालीले होटेल, रेस्टुराँ, खाना बनाउने (कुकिङ) र सरसफाइ (क्लिनिङ) क्षेत्रमा काम गर्न पाउनेछन् । कँडेलका अनुसार सेवाअन्तर्गत कोरियाले लैजाने नेपालीको संख्या भने निश्चित भइसकेको छैन । कँडेलका अनुसार वनक्षेत्रमा माग आइसकेको छैन । वनक्षेत्रको परिभाषाभित्र के–के पर्छ भन्ने पनि स्पष्ट हुन बाँकी छ । वनक्षेत्रमा पनि रोस्टर परिवर्तन गरेर पठाउन सकिने/नसकिने स्पष्ट भई नसकेको उनले बताइन् ।
दक्षिण कोरिया नेपाली कामदारका लागि निकै आकर्षक गन्तव्यमध्येको एक हो । ईपीएसअन्तर्गत जाने कामदारले गर्ने काम तल्लो तहको भए पनि अन्य देशको तुलनामा उच्च ज्याला र सामाजिक सुरक्षाको व्यवस्था हुने भएकाले दक्षिण कोरिया आकर्षक गन्तव्य बन्न पुगेको हो ।ईपीएस प्रणालीअन्तर्गत दक्षिण कोरियाले नेपालसहित १६ देशबाट कामदार लिइरहेको छ । अन्य देशमा इन्डोनेशिया, मंगोलिया, श्रीलंका, फिलिपिन्स, थाइल्यान्ड, भियतनाम उज्बेकिस्तान, पाकिस्तान, कम्बोडिया, चीन, बंगलादेश, किर्गिजस्तान, इस्ट टिमोर र लाओस छन् । अन्य देशको तुलनामा कोरियाली कम्पनीले नेपाली कामदार ठूलो संख्यामा लिएका छन् ।
सन् २०२३ मा कोरियाले ईपीएस प्रणालीअन्तर्गत १ लाख २० हजार विदेशी कामदारका लागि कोटा तोकेकोमा १९ हजार ७३९ नेपाली लगेको ह्युमन रिसोर्सेज डेभलपमेन्ट सर्भिसेज अफ कोरियाले बताएको छ ।
सन् २०२४ का लागि १ लाख ६५ हजारको कोटा तोकिएको छ । विदेशी कामदारको कुल कोटा बढेसँगै नेपालले पाउने कोटा पनि बढेको छ । ईपीएस शाखाका अनुसार नेपालको लागि सन् २०२४ मा जम्मा कोटा १३ दशमलव २ प्रतिशतले बढेको छ । हाल वार्षिक कोटा १५ हजार ८०० को हाराहारीमा रहेको कँडेलले बताइन् ।
सन् २००७ को जुलाईमा नेपाल र दक्षिण कोरिया सरकारबीच मन्त्रीस्तरमा ईपीएस प्रणालीअन्तर्गत नेपाली कामदार कोरिया लैजानेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएपछि नेपाली कामदार कोरिया जान पाएका हुन् । यो सरकार–सरकारबीचको प्रक्रिया अन्तर्गत नेपालीहरू रोजगारीको लागि कोरियामा जान पाउँछन् । यो प्रक्रियामा निजीक्षेत्रको भूमिका रहँदैन ।
ह्युमन रिसोर्सेज डेभलपमेन्ट सर्भिसेज अफ कोरियाका अनुसार हालसम्म नेपालबाट ९९ हजार ९०० नेपाली ईपीएसअन्तर्गत त्यहाँ पुगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार हाल कोरियामा करीब ४० हजार नेपाली कार्यरत छन् । तीमध्ये अधिकांश ईपीएसअन्तर्गत गएकाहरू छन् ।