काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचकसँगै कारोबार रकममा वृद्धि भएको छ । परिसूचक १५ दशमलव ४६ अंक बढेर २ हजार ११९ दशमलव ६९ विन्दुमा पुगेको हो । अघिल्लो कारोबार दिन रू. ५ अर्ब ८ करोडभन्दा बढीको कारोबार भएकोमा आज करीब साढे ६ अर्ब बराबरको कारोबार भएको छ ।
आजसँगै नेप्से लगातार चार कारोबार दिन बढेको हो । चार कारोबार दिनमा ८२ दशमलव ५९ अंक बढेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ४९ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ८३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ८३ प्रतिशत वृद्धि भएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरणको सहमति भएयता बजार बढ्न थालेको हो । नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्व, आर्थिक सुधारसँगै पूँजी बजारमा पनि नीतिगत सुधार हुने लगानीकर्ताको अपेक्षा छ ।
आज ३१३ धितोपत्रको २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता शेयर ८४ हजार १२६ पटकमा रू. ६ अर्ब ४८ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये आँखुखोला जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २२७ दशमलव ७० पुगेको छ । शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा रहेको समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव २३ प्रतिशत बढेर रू. २ हजार ९६० पुगेको हो ।
बिहीवार मैलुङ खोला जलविद्युत कम्पनीका शेयरधनीले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ३७ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६२९ दशमलव ९० मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा दोर्दी खोला जलविद्युत कम्पनी छ । कम्पनीको शेयर मूल्य ४ दशलमव ७५ प्रतिशत घटेर रू. ४६१ कायम भएको छ ।
यस दिन शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ओगटेको छ । यस कम्पनीको रू. ३० करोड ९ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७०८ कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा नेपाल फाइनान्सको रू. १७ करोड ६४ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये दुई समूहको सूचक घटेको छ भने बाँकी समूहको सूचक बढेको छ । तीमध्ये विकास बैंक समूहको सूचक सबैभन्दा बढी ३ दशमलव ४३ प्रतिशत वृद्धि भएको छ भने वित्त समूहको सूचक सबैभन्दा बढी शून्य दशमलव ५९ प्रतिशत घटेको छ ।