काठमाडौं । न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्डस् २०२४ अन्तर्गत विभिन्न ६ विधामा १२ जनालाई अवार्डस् वितरण गरिएको छ ।
न्यू बिजनेश एजको आयोजनामा भएको उक्त कार्यक्रमअन्तर्गत सातै प्रदेशका एक-एक जनालाई ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर’ विधामा अवार्ड्स दिइएको छ । यस्तै, ‘प्रोफेसन वुमन अफ एक्सलेन्स’, ‘पायोनियर सोसियल आन्त्रपे्रनर अफ दि इयर’, ‘वुमन इन टेक’ र ‘दि बेस्ट वुमन आन्त्रप्रेनर’ विधामा देशभरबाट एक-एक जनालाई अवार्ड दिइएको छ, जसमा ‘प्रोफेसन वुमन अफ एक्सलेन्स’ विधाको अवार्ड इनड्राइभकी निर्देशक रिता पोखरेलले पाएकी छन् ।
‘पायोनियर सोसियल आन्त्रप्रेनर अफ दि इयर’ विधाको अवार्ड भने इडुकेशकी सहसंस्थापक वेदिका मुरारकाले पाएकी छन् । उनले पढ्ने टेबलको रूपमा परिणत गर्न मिल्ने स्कुल ब्याग बनाएकी छन् । यसले बेञ्च डेस्कको सुविधा नपाएका केटाकेटीहरूलाई पढन सजिलो बनाएको छ । बेलायतमा अध्ययनका क्रममा विश्वविद्यालयको कोर्सको सिलसिलामा विकसित अवधारणा अनुसार झोला तयार पारिएको उनले बताएकी छन् ।
‘वुमन इन टेक’को अवार्ड भने अलोईकी सहसंस्थापक सोनिका मानन्धरले जितेकी छन् । उनको कम्पनीले असंगठित क्षेत्रका तथा हरित व्यवसाय गर्ने महिलालाई वित्तीय स्रोत जुटाउन सहयोग गर्छ ।
‘दि बेस्ट वुमन आन्त्रप्रेनर’ विधाको अवार्ड भने श्री किसान इन्नोभेसन हबकी मौसुमी श्रेष्ठले पाएकी छन् । उनको कम्पनीले आधुनिक तरिकाले कृषि गर्नका लागि नयाँ विधि विकास गर्ने र यसबारे किसानलाई सिकाउने गरेको छ ।
‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर’ विधामा कोशी प्रदेशबाट ताप्लेजुङस्थित चन्दन फाइबर उद्योगकी माया गुरुङ, मधेशबाट धनुषास्थित सुनैना आर्टस्की सुनैना ठाकुर, बाग्मतीबाट काठमाडौंस्थित बेल्ला कासाकी सपना सापकोटा र गण्डकीबाट कास्कीस्थित कर्णाली गार्मेन्ट उद्योगीकी गीता नाथ छन् ।
यस्तै, लुम्बिनीबाट बाँकेस्थित बाँके पोल्ट्री फर्मकी गीता कुमारी कोइरी मौर्य, कर्णालीबाट सुर्खेतस्थित श्रमजीवी मसला उद्योगकी भूमिसरा टोमटा र सुदूरपश्चिमबाट डडेलधुरास्थित ग्रिन माउन्टेन कृषि विकास फर्मकी सावित्री ओझाले उक्त अवार्ड पाएकी छन् ।
‘लाइफ टाइम अचिभमेन्ट अवार्ड इन वुमन आन्त्रप्रेनरशीप’ अवार्ड घोषणा भने केही बेरमै हुँदैछ ।