काठमाडौं । अविरल वर्षासँगै पहिरो खसेपछि पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–मलेखु सडक अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार चितवनको इच्छाकामना–४ घोप्टेभीर र वडा नम्बर ३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खस्दा सडक दुईतर्फि अवरुद्ध बनेको हो ।
उनले भने 'अहिले पहिरो पञ्छाउने काम भइरहेको छ ।' प्रहरी निरीक्षक भण्डारीले चुम्लिङटारमा खसेको पहिरो पन्छाइसकेको बताए ।
यस्तै, वर्षात्का कारण पहिरो जाँदा कान्तिलोकपथमा आवागमन अवरुद्ध भएको छ । शुक्रबारदेखिको वर्षाले ललितपुरको बागमती गाउँपालिका–३ कार्कीबासमा पहिरो जाँदा सडक अवरुद्घ हुन पुगेको भट्टेडाँडा प्रहरीचौकीका प्रमुख उद्धव महतले जानकारी दिए ।
कान्तिलोकपथ आयोजनाका सूचना अधिकारी तथा इञ्जिनियर रविन्द्र महर्जनले दिनुभएको जानकारीअनुसार वर्षात्का कारण ‘फास्ट ट्रयाक’को माटो र लेदो पानीले बगाएर बगुवा पुलमा जम्मा भएको हुँदा आवतजावतमा समस्या छ । अविरल वर्षा जारी रहेको भए पनि ललितपुरको दक्षिणी भेगमा हालसम्म क्षति भएको प्रहरी प्रमुख महतले बताए । महाँकाल गाउँपालिकाका प्रमुख गणेश केसीले भने 'अहिलेसम्म लेले चन्दनपुर मुख्य सडक बन्द भएको छैन । रासस