काठमाडौं । लगातार पाँच कारोबार दिन बढेपछि नेप्से परिसूचक सोमवार सामान्य करेक्सन भएको छ । परिसूचक ४ दशलमव ६२ अंक घटेर २ हजार १३६ दशमलव ३५ विन्दुमा कायम भएको छ । पाँच कारोबार दिनमा नेप्से परिसूचक १०३ दशमलव ८६ अंक बढेको थियो । बढेको बजारमा कारोबारीले प्रोफिट बुक गरेसँगै सोमवार सामान्य करेक्सन भएको हो ।
साथै असार मसान्तका लागि कर्जाको साँवा–ब्याज जोहो गर्नका लागि पनि कतिपयलाई शेयर बिक्री गर्नुपर्ने बाध्यता हुन्छ । सोही कारण लगानीकर्ताले यसरी बढेको बेलामा बेचेर किस्ताको साँवा–ब्याज तिर्ने व्यवस्था मिलाएका हुन्छन् । यसले पनि आज केही बिक्री दबाब बढ्नु स्वभाविक रहेको लगानीकर्ता बताउँछन् ।
सोमवार सेन्सेटिभ इन्डेक्स शून्य दशलमव २० प्रतिशत,फ्लोट इन्डेक्स शून्य दशलमव १८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव २४ प्रतिशत घटेको छ । ३२४ धितोपत्रको १ करोड ४ लाख ७५ हजार १८१ कित्ता शेयर ५९ हजार ९७४ पटकमा रू. ४ अर्ब ५६ करोड ९८ लाख बराबरको कारोबार भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी समाज लघुवित्तको शेयर मूल्य ९ दशमलव ६८ प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू.३ हजार ४ सय पुगेको छ । त्यस्तै दोस्रोमा ११%एनआईसी एशिया डिबेञ्चर २०८२÷८३ नामक ऋणपत्रको मूल्य ६ दशलमव ०१ प्रतिशत बढेर रू. १ हजार २१३ दशमलव ८० पुगेको छ ।
सोमवार सबैभन्दा बढी मैलुङग खोला जलविद्युत कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ८ दशमलव ३९ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन । शेयर मूल्य प्रतिकित्ता रू. ६०६ मा झरेको छ । त्यस्तै दोस्रोमा आँखुखोला जलविद्युत कम्पनीको शेयर मूल्य ४ दशमलव २७ प्रतिशत घटेर रू. २२४ कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ओगटेको छ । यस कम्पनीको रू. २८ करोड ७० लाख बराबरको कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७२४ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा जानकी फाइनान्सको रू.१५ करोड ५५ लाख बराबरको भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये तीन समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको हो । सबैभन्दा बढी लघुवित्त समूहको सूचक शून्य दशमलव ९२ प्रतिशत वृद्धि भएको छ भने होटल तथा पर्यटन समूहको सूचक शून्य दशमलव ९५ प्रतिशत घटेको छ ।