काठमाडौं । वित्तीय अवस्थाको उचित अध्ययन नगरी रिलायन्स स्पिनिङ मिल्सलाई उच्च मूल्यमा साधारण शेयर जारी गर्न अनुमति दिएको आरोप लागेपछि प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डसँग स्पष्टीकरण सोधेको छ । बोर्डले हालै रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङ विधिबाट सर्वसाधारणमा प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा साधारण शेयर निष्कासन (आईपीओ) गर्न असार १२ गते अनुमति दिएको थियो ।
विगतमा प्रतिशेयर नेटवर्थ उच्च भएको वित्तीय विवरण सार्वजनिक गरी उच्च मूल्य कायम गर्न सफल कम्पनीले हालै वास्तविक प्रतिशेयर नेटवर्थ घटेको प्रतिवेदन सार्वजनिक गरेपछि उक्त मूल्यबारे प्रश्न उठेको छ ।
कम्पनीले विगतमा विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने सम्भावित दायित्व लुकाएकाले संस्थागत लगानीकर्ताले उच्च मूल्यमा यो कम्पनीको शेयर किनेको र त्यसको १० प्रतिशत कममा सर्वसाधारणलाई बेच्न शेयरको मूल्य कायम भएको हुँदा त्यो पनि उच्च रहेको भन्दै लगानीकर्ताको केही समूहले बोर्डमा निवेदन दिइसकेका छन् ।
बुक बिल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्ताले शेयर जारी गर्न लागेको कम्पनीको निश्चित प्रतिशत शेयर, निश्चित मूल्यमा खरीद गर्छन् । सोही मूल्यलाई आधार मानी सर्वसाधारणमा शेयर जारी गर्ने विधि नै बुक बिल्डिङ विधि हो । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ सम्बन्धमा विवाद उठेपछि संसदीय समितिले यस विषयमा चासो राखेको हो ।
समितिले मंगलवार विभिन्न पाँच प्रश्नको जवाफ माग गर्दै नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको छ । बोर्डलाई ७ दिनभित्र जवाफ पेश गर्न भनिएको छ । सार्वजनिक लेखा समितिले पछिल्लो ३ आर्थिक वर्ष प्रतिशेयर आम्दानी घट्दै गएको कम्पनीलाई बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न दिएको अवस्थामा लगानीकर्ताको लगानीको सुरक्षाका सम्बन्धमा आवश्यक धारणा पेश गर्न समितिले भनेको छ ।
विगतमा प्रतिशेयर नेटवर्थ उच्च भएको वित्तीय विवरण सार्वजनिक गरी उच्च मूल्य कायम गर्न सफल कम्पनीले हालै वास्तविक प्रतिशेयर नेटवर्थ घटेको प्रतिवेदन सार्वजनिक गरेपछि उक्त मूल्यबारे प्रश्न उठेको छ ।
कम्पनीको प्रक्षेपित वित्तीय विवरण र वास्तविक वित्तीय विवरणमा सामञ्जस्य नदेखिएको उल्लेख गर्दै समितिले के भएको हो त्यसको स्पष्ट जानकारीसमेत बोर्डसँग मागेको छ । रिलायन्स स्पिनिङ मिल्सले गत आवमा आफ्नो वित्तीय विवरणमा प्रतिशेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको उल्लेख गरेको थियो । तर, अहिले १ वर्ष नपुग्दै उक्त आम्दानी घटेर २ रुपैयाँ ८ पैसामा सीमित भएको छ । अर्थात् यसअघि वित्तीय विवरण तयार गर्दा मेनिपुलेशन भएको अनुमान गर्न किन नसकिने भनेर पनि बोर्डलाई प्रश्न गरेको छ ।
त्यसैगरी सर्वसाधारण र संस्थागत लगानीकर्तालाई कम्पनीका तर्फबाट जारी गरिएको आह्वान पत्रमा वित्तीय विवरणको प्रक्षेपण आव २०७९/८० मा प्रतिशेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा, आव २०८०/८१ मा ३२ रुपैयाँ ९० पैसा, २०८१/८२ मा ३२ रुपैयाँ ८९ पैसा र २०८२/८३ मा ५३ रुपैयाँ ९३ पैसा रहेकोमा कम्पनीबाट प्रकाशित आव २०८०/८१ को चैतसम्मको वित्तीय विवरणमा प्रतिशेयर आम्दानी २ रुपैयाँ ८ पैसा मात्र देखाएकाले प्रक्षेपित विवरण र वास्तविकतामा सामञ्जस्य नदेखिएकाले त्यस सम्बन्धमा के भएको हो, त्यसको स्पष्ट जानकारी उपलब्ध गराइदिन पनि बोर्डलाई भनिएको छ ।
संस्थागत लगानीकर्ताले उच्च मूल्यमा कम्पनीको शेयर खरीद गरेकाले ती संस्थागत लगानीकर्ताको रिलायन्स स्पिनिङ मिल्सका सञ्चालकहरूसँग स्वार्थ बाझिएको छ कि छैन भन्ने प्रश्न पनि लेखा समितिले गरेको छ । साथै बुक बिल्डिङमा कुन संस्थागत लगानीकर्ताले कति मूल्यमा कति कित्ता शेयरका लागि आवेदन दिएका थिए, त्यसको समेत विस्तृत विवरण उपलब्ध गराउन पनि बोर्डलाई लेखा समितिले निर्देशन दिएको छ ।
पछिल्लो समय २ रुपैयाँ ८ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको आईपीओ योग्य संस्थागत लगानीकर्ताले ९१२ रुपैयाँमा खरीद गरेका छन् । यो मूल्यभन्दा १० प्रतिशत कम मूल्यमा सर्वसाधारणमा शेयर बेच्नुपर्ने अवस्थामा असार २७ गतेदेखि सर्वसाधारणमा जारी हुने कुल कित्ता शेयरमध्ये १० प्रतिशत आरक्षित शेयर प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको छ ।
बोर्डमा हाल अध्यक्ष पद रिक्त छ । गत चैतमा धितोपत्रसम्बन्धी ऐन संशोधन भएपछि बोर्ड सञ्चालक समितिमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने व्यक्तिले अध्यक्षसरह जिम्मेवारी पाउने गरी काम भइरहेको छ । पुस १९ गतेदेखि रोकिएको आईपीओ स्वीकृति प्रक्रिया शुरू हुँदा असार १२ गते सबैभन्दा पहिला रिलायन्स स्पिनिङ मिल्सले आईपीओ अनुमति पाएको हो ।
अध्यक्ष नियुक्त हुनुअघि प्रिमियम मूल्यका, बुक बिल्डिङ विधिका र ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीको आईपीओ स्वीकृति नदिने भनी बोर्डकै उच्च अधिकारीले प्रेसलाई भन्दै आए पनि बोर्डले बुक बिल्डिङमार्फत साधारण शेयर निष्कासन गर्न रिलायन्स स्पिनिङ मिल्सलाई अनुमति दिएको हो ।
कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रलाई आधार मान्दा गत आव २०७९/८० सम्मको वार्षिक प्रतिशेयर नेटवर्थ २४२ रुपैयाँ ५ पैसा छ । ७५ करोड ३६ लाख ८४ हजार रुपैयाँभन्दा बढी विद्युत् महशुल दायित्व गणना गर्नुपर्दाको अवस्थामा भने कम्पनीको चैत मसान्तसम्मको लेखापरीक्षकबाट प्रमाणित प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ४५ पैसा कायम भएको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपैयाँ छ । कम्पनीले योग्य संस्थागत लगानीकर्तामा ७ लाख ७० हजार ६४० कित्ता शेयर विक्री गरिसकेको छ भने सर्वसाधारणमा ९४ करोड ८८ लाख ११ हजार ९६८ रुपैयाँ बराबरको ११ लाख ५५ हजार ९६० कित्ता विक्री गर्न अनुमति पाएको हो । पहिलो चरणमा १० प्रतिशतका दरले हुन आउने १ लाख १५ हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागेको हो ।
यी हुन् पाँच प्रश्न
उक्त कम्पनीको आधारमूल्य के आधारमा तय गरिएको हो ? बुक बिल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रक्रिया के हो ?
रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङमा आईपीओ ल्याउँदा अर्थात् गत आवमा आफ्नो वित्तीय विवरणमा प्रतिशेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको उल्लेख गरेको थियो तर, अहिले १ वर्ष नपुग्दै उक्त आम्दानी घटेर २ रुपैयाँ ८ पैसामा सीमित भएको छ । अर्थात् यसअघि वित्तीय विवरण तयार गर्दा मेनिपुलेशन भएको अनुमान गर्न किन नसकिने ?
सर्वसाधारण र संस्थागत लगानीकर्तालाई कम्पनीका तर्फबाट जारी गरिएको आह्वानपत्रमा वित्तीय विवरणको प्रक्षेपण आव २०७९/८० मा प्रतिशेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा, आव २०८०/८१ मा ३२ रुपैयाँ ९० पैसा, २०८१/८२ मा ३२ रुपैयाँ ८९ पैसा र २०८२/८३ मा ५३ रुपैयाँ ९३ पैसा रहेकोमा कम्पनीबाट प्रकाशित आव २०८०/८१ को चैतसम्मको वित्तीय विवरणमा प्रतिशेयर आम्दानी २ रुपैयाँ ८ पैसा मात्र देखाएको हुँदा प्रक्षेपित विवरण र वास्तविकतामा सामञ्जस्य नदेखिएकाले त्यस सम्बन्धमा के भएको हो ?
उक्त कम्पनीमा बुक बिल्डिङका लागि बिड गर्न योग्य संस्थागत लगानीकर्ताको उक्त कम्पनी वा कम्पनीका सञ्चालकहरूसँग स्वार्थ बाझिएको छ कि छैन ?
बुक बिल्डिङमा कुन संस्थागत लगानीकर्ताले कति मूल्यमा कति कित्ता शेयरका लागि आवेदन दिएका थिए ? कम्पनीले तीनओटा आवमा फरक–फरक प्रतिशेयर आम्दानी (हरेक आवमा घट्दै गएको) सार्वजनिक गरेको देखिएकाले सर्वसाधारण लगानीकर्ताको लगानी सुरक्षा सम्बन्धमा नेपाल धितोपत्र बोर्डको धारणा के हो ?