विराटनगर। विराटनगर महानगरपालिकाले पहिलोपटक ‘महानगर रोजगार मेला’ आयोजना गर्ने भएको छ । मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका जनशक्तिलाई जोड्ने महानगरको अपेक्षा छ । आगामी चैत २ र ३ गते मेला आयोजना गर्ने निश्चित भएको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । विराटनगरस्थित वीरेन्द्र सभागृह छेउमा रहेको इको पार्कमा बिहान १० देखि ५ बजेसम्म मेला सञ्चालन हुने बताइएको छ ।
स्थानीय रूपमा रोजगारीको खोजीमा रहेका जनशक्तिलाई स्थानीय उद्योग व्यवसाय, बैंकिङ, पर्यटन, होटेल, बैंक, बीमा, विद्यालय तथा निजी व्यावसायिक क्षेत्रमा रोजगारी उपलब्ध गराउन सूचनाको पहुँच स्थापना, सहजीकरण र समन्वयात्मक भूमिका निर्वाह गर्न मेला उपलब्धिमूलक हुने कोइरालाको भनाइ छ । महानगरले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर कोइरालाले बताएअनुसार बेरोजगार युवालाई रोजगारीको सूचना दिलाउने उद्देश्य राखिएको मेलामा प्राविधिक, प्रशासनिक, उद्योग र श्रम क्षेत्रका व्यक्तिहरूको सहभागिता हुनेछ । दक्षताअनुसारको रोजगारी खोजिरहेका युवा र रोजगारदातालाई प्रत्यक्ष भेट गराउने, बेरोजगारलाई काम तथा रोजगारदातालाई जनशक्ति खोज्न र रोज्न सहयोग गर्ने र स्थानीय रोजगारीका क्षेत्र, अवसर एवं शीपमूलक तालीमको अवसरसम्बन्धी जानकारी गराउने मेलाको लक्ष्य छ ।
रोजगारीको वर्तमान अवस्थाबारे पाश्र्वचित्र र सफलताको कथा, रोजगार तथा उद्यमीसँगको संवाद कार्यक्रम, वृत्ति विकाससम्बन्धी परामर्श सेवा तथा जानकारी, रोजगारीका आकांक्षी र रोजगारदाताको तथ्यांक संकलन गरी नमूना रोजगार सेवा केन्द्रमार्फत सहजीकरण हुने बताइएको छ ।
स्थानीय जनशक्तिलाई स्थानीय स्तरमै रोजगारी उपलब्ध गराउने उद्देश्यले आयोजना गर्न लागिएको महानगर रोजगार मेलामा विभिन्न उद्योग व्यवसायबाट शीपयुक्त जनशक्तिको मागको रहेको छ । यस मेलामा ३ हजार जनाभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् । सहभागीमध्ये करीब १५० जनाले रोजगारीका अवसरको सूचना र प्रत्यक्ष भेटघाटको अवसर पाउने अनुमान गरिएको छ ।