काठमाडौं। स्वास्थ्य सेवा र डिजिटल प्रविधिमा सहकार्य गर्न साइबरनेटिक्स र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच समझदारी भएको छ । उक्त सम्झदारीअन्तर्गत दुवै संस्थाले विदेशमा रहने व्यक्तिले नेपालमा रहेका आफ्ना बिरामी आमाबुवा तथा अन्य परिवारका सदस्यको लागि ‘हेल्दी हेल्थ प्याकेज’ ल्याउने निर्णय गरिएको छ, जसले विदेशमा रहेका छोराछोरी तथा आफन्तले अनलाइनबाट सेवा खरीद गरी आफ्नो नेपालमा रहने परिवारलाई स्वास्थ्य सेवा प्रदान गर्न सक्ने बताइएको छ ।
यस प्याकेजअन्तर्गत विशेष गरी पूर्ण स्वास्थ्य परीक्षण, प्याथोलोजी सेवा, निवारक तथा अग्रिम उपचार सेवा, फिजियोथेरापी, अर्थोपेडिक, न्युरोलोजी, कार्डियोलोजी तथा अन्य स्वास्थ्य परीक्षणको सुविधा लिन सक्नेछन् । सम्झौता पत्रमा ग्राण्डी अस्पतालका प्रमुख कार्यकारी अधिकृत अमृत खन्ना र साइबरनेटिक्सका प्रबन्ध निर्देशक जेम्स न्याछ्योनले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा दुवै संस्थाका शीर्ष पदाधिकारीहरूको उपस्थिति थियो ।
ग्राण्डी अस्पतालका प्रमुख कार्यकारी अधिकृत खन्नाले विदेशमा रहेका नेपालीले अब आफ्ना बाआमा तथा आफन्तलाई विश्वस्तरीय स्वास्थ्य सेवा अनलाइनबाट खरीद गरी प्रदान गर्न सक्ने बताए । त्यस्तै, साइबरनेटिक्सका प्रबन्ध निर्देशक न्याछ्योनले डिजिटल प्रविधिको सहायताले विदेशमा बस्ने सम्पूर्ण नेपालीले मातृभूमि नेपालमा बस्ने आफन्तजनलाई स्वास्थ्य सेवा सुविधा पुर्याउने बताए ।