काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ करोड ८६ लाख रूपैयाँभन्दा खुद नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा १ दशमलव ३५ प्रतिशत घटेको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनीले १२ करोड २ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज बढेकाले खुद नाफा घटेको हो । गत वर्ष ४४ करोड ७६ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष भने ३८ करोड ५७ लाख रूपैयाँभन्दा बढी रहेको छ ।
सञ्चालन नाफा गत वर्ष १७ करोड १९ लाख रूपैयाँभन्दा बढी रहेकोमा यस वर्ष १ दशमलव ६५ प्रतिशतले घटेर १६ करोड ९० लाख रूपैयाँभन्दा बढी कायम भएको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४५ करोड रूपैयाँ रहेको छ । यस वर्ष १२ दशमलव ३६ प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले पूँजी बढाएको हो । शेयर प्रिमियमा ८ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको रिटर्न अर्निगमा ११ करोड ५७ लाख रूपैयाँभन्दा बढी छ । जगेडा कोष रकम भने १ अर्ब ६० करोड रूपैयाँ छ ।
तेस्रो त्रैमाससम्म कम्पनीले १३ अर्ब ७१ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने १९ अर्ब १८ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । यस वर्ष निक्षेप संकलन भने ७ प्रतिशत र कर्जा प्रवाह करिब ५ प्रतिशत बढी भएको हो । निष्क्रिय कर्जा गत वर्ष १२ दशमलव ९८ प्रतिशत रहेकोमा यस वर्ष १० दशमलव ८८ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी १० रूपैयाँ ९१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१९ रूपैयाँ रहेको छ ।