विराटनगर । साना तथा मध्यम स्तरका कम्पनीहरूको लगानी सुरक्षालाई सहज बनाउँदै उनीहरूलाई पूँजीबजारसम्म पहुँच सुनिश्चित गर्न नेपालमा छुट्टै स्टक एक्सचेञ्ज स्थापना गर्नुपर्ने माग उठेको छ ।
शनिवार मोरङ उद्योग व्यापार संघमा आयोजित ‘नेपालको अर्थतन्त्रमा शेयर बजारको प्रभाव’ विषयक छलफल कार्यक्रममा संघका उपाध्यक्ष विकास वेगवानीले उक्त माग गरेका हुन् ।
उपाध्यक्ष वेगवानीले परम्परागत सोचमा आधारित शेयर लगानीबाट अब ग्रोथमुखी लगानीतर्फ मोडिनुपर्नेमा जोड दिए । ‘अहिले नेपालका धेरै कम्पनीहरू सार्वजनिक शेयरमार्फत पूँजी संकलन गर्न चाहिरहेका छन्,’ उनले भने, ‘त्यसैले साना तथा मध्यमस्तरका कम्पनीलाई पनि भारतीय मोडलअनुसार छुट्टै शेयर इन्डेक्समार्फत प्रवर्द्धन गरिनुपर्छ ।’
उनले तीन वर्ष नाफामा रहेपछि मात्र कम्पनीहरूलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण गर्ने व्यवस्था ल्याउनुपर्ने धारणा व्यक्त गरे । साथै, २० वर्ष पुराना कम्पनीलाई बुक भ्यालुमा शेयर जारी गर्न दिने अहिलेको व्यवस्था पनि खारेज गर्नुपर्ने बताए ।
मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनन्त चापागाईंले विगतमा बैंकहरूले दीर्घकालीन परियोजनामा छोटो अवधिको कर्जा लगानी गरेर नीतिगत गल्ती गरेका स्वीकार गर्दै हाल कर्जा नीतिमा सुधार आएको उल्लेख गरे ।
शुभकामना सेक्युरिटिजका निखिल अग्रवालले नेपालको शेयर बजारलाई तुलनात्मक रूपमा सुरक्षित बताउँदै भने, ‘राम्रो कम्पनीमा लगानी गरेमा लगानीकर्ताले राम्रो प्रतिफल पाउँछन् ।’
रोटरी क्लब विराटनगर फ्युजन र रोटरेक्ट क्लब विराटनगरको सहकार्यमा आयोजित कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि शेयर बजारमा नीतिगत अस्पष्टताले उतारचढाव ल्याउने गरेको र यसले लगानीकर्ताको मनोबलमा असर पार्ने बताएका थिए । उनीहरूले नीति नियममा स्पष्टता, आईपीओको पहुँच विस्तार तथा निजी क्षेत्रको विश्वास पुनः स्थापित गर्न सुधारात्मक कदम चाल्नुपर्नेमा जोड दिए ।
मोरङ उद्योग व्यापार संघका कार्यकारिणी सदस्य ओमप्रकाश शर्माले शेयर बजारमा सुधार ल्याउन सके यो लगानीकर्ताको आकर्षण बढाउने माध्यम मात्र नभई आर्थिक वृद्धिको इन्जिन बन्न सक्ने विश्वास व्यक्त गरे ।