काठमाडौं । पछिल्लो समय सान्भि इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले जेठ २६ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको हो । अब कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत हुनेछ । कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओसँगै संस्थापक तर्फको शेयर समेत दोस्रो बजारमा सूचीकृत गराउनेछ । यस कम्पनीमा संस्थापक तर्फ ५० लाख १० हजार कित्ता , आयोजना प्रभावित स्थानीयतर्फ ८ लाख ८० हजार कित्ता र कर्मचारी समेत थप सर्वसाधारणमा २९ लाख १० हजार गरी कुल ८८ लाख कित्ता शेयर कायम छ । कुल कित्ता शेयरमध्ये संस्थापक , आयोजना प्रभावित स्थानीय र कर्मचारीतर्फको शेयर तीन वर्षका लागि र सामूहिक लगानीकोषतर्फको शेयर भने ६ महिनासम्म कारोबार गर्न मिल्नेछैन् । सर्वसाधारणमा बाँडफाँट भएको मितिदेखि उल्लेखित शिर्षकका शेयर तोकिएको अवधिसम्म लकइनमा रहनेछन् ।
प्रतिकित्ता १०० रुपैयाँमा निष्कासन भएको कम्पनीको पहिलो शेयर कारोबार मूल्य वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा बजार सञ्चालकले निर्धारण गर्नेछ । बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आईपीओ जारी गरेका कम्पनीको शेयरको पहिलो कारोबारका लागि वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज पहिलो कारोबारका लागि तोक्नेछ । यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ७४ पैसा रहेको छ । यस आधारमा दोस्रो बजारमा सूचीकृतपछि कम्पनीको पहिलो कारोबार मूल्य न्यूनतम प्रतिकित्ता १२० रुपैयाँ ७४ पैसादेखि अधिकतम ३६२ रुपैयाँ २२ पैसासम्मको मूल्यरेञ्ज नेप्सेले तोक्नेछ ।