काठमाडौं। सहकारी संस्थाहरूमा आन्तरिक लेखापरीक्षणको भूमिका रहेको लेखा सुपरिवेक्षण समिति निष्क्रिय हुँदा सञ्चालकले मनोमानी गरेको सरोकारवालाहरूले बताएका छन् । व्यवस्थापन र सञ्चालकको कामको सुपरिवेक्षण गर्ने भूमिका समितिले निर्वाह नगर्दा सञ्चालकले बदमासी गरेको र यसले सदस्यहरू पीडित भएको उनीहरूको भनाइ छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा बिहीवारदेखि शुरू भएको दोस्रो लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा कार्यपत्र पेश गर्दै एसियाली ऋण महासंघका चिफ टेक्निकल अधिकृत रञ्जित हिताराचीले नेपालको सहकारीमा समस्या आउनुमा लेखा सुपरिवेक्षण समिति मुख्य जिम्मेवार रहेको बताए ।
सहकारीहरूमा लेखा समितिमा सञ्चालककै परिवारका व्यक्ति राख्ने, बोर्डसँग संयुक्त बैठक बसेर लेखा प्रतिवेदन पारित गर्ने जस्ता गलत प्रवृत्ति रहेको भन्दै उनले यसलाई सुधार गर्न सुझाव दिए । हिताराचीले नेपालका सहकारीले ५ खर्ब पूँजी परिचालन गरिरहेको र यसको सुरक्षाका लागि बलियो नियमन आवश्यक रहेको औंल्याए । ‘सहकारीको नियमन गर्न दोस्रो तहको नियामक गठन गर्न लागिएको सुनेको छु,’ उनले भने, ‘यसको विरोध होइन, छिटोभन्दा छिटो स्थापना गर्न सहयोग गर्नुहोस् ।’
गोष्ठीमा कार्यपत्र पेश गर्दै एसियाली ऋण महासंघका चिफ टेक्निकल अधिकृत रञ्जित हिताराचीले नेपालको सहकारीमा समस्या आउनुमा लेखा सुपरिवेक्षण समिति मुख्य जिम्मेवार रहेको बताए ।
कार्यक्रममा अक्कुकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भी साना रोक्योले लेखा सुपरिवेक्षण समिति प्रभावकारी बनाउन उपयुक्त व्यक्ति त्यहाँ पुग्ने व्यवस्था आवश्यक रहेकोमा जोड दिइन् । कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थाले बैंकभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सृजना भएको बताए । ‘सहकारीहरू बैंकभन्दा ठूलो कारोबार गर्ने अभ्यासमा लागे, सहकारीको मूल्य मान्यता विपरीत काम गर्न थाले, बचतकर्ताको बचत दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुँदैन, सहकारीमा आबद्धहरूले नै समाधान गर्ने हो, सरकारले सल्लाह दिने हो, यो बाटो जाऊ भन्ने हो । सरकारले समस्या समाधान गर्ने होइन,’ उनले भने । कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले अर्थतन्त्रको एउटा महत्त्वपूर्ण खम्बामा धमिरा लागेको धारणा राखे । ‘सहकारीहरूले के कस्तो काम गरेका छन्, के कस्तो कमीकमजोरी गरेका छन्, आत्मसमीक्षा गर्ने बेला भएको छ,’ उनले भने, ‘अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको क्षेत्र अहिले आफै ठूलो समस्यामा छ, यसले अर्थतन्त्रमै ठूलो असर पुर्याउन सक्छ, यस विषयमा हामी सबै सजग बन्नुपर्छ ।’
सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले ‘सहकारीको खोल ओढेर बदमासी गर्ने’लाई कानूनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे । सहकारीको प्रभावकारी नियमनका लागि वैशाख मसान्तभित्रै ऐनको मस्यौदा सार्वजनिक गर्ने भन्दै उनले अब सहकारी देखाएर गलत गर्नेलाई कारबाही हुने उल्लेख गरे । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारीमा सदस्यले पनि आफ्नो भूमिका निर्वाह नगर्दा पनि समस्या सृजना हुनुको एउटा कारण रहेको बताइन् । उनले सहकारीसँगै सहकारीका सदस्यले पनि सहकारीप्रति अपनत्व महसूस गर्नुपर्ने धारणा राखिन् ।